१२ असोज, मेचीनगर : मेचीनगर नगरपालिकाले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष विभिन्न संरचना निर्माणका लागि दश सुत्रिय माग पेश गरेको छ । नगरपालिकाले नगरपालिका क्षेत्रको बीच भाग भएर बग्ने निन्दा खोलाको दुरी ३३ किलो मिटर रहेको, पूर्व पश्चिम लोकमार्ग बाहेक कतै मोटरेबल पुल नभएको अवस्थामा मोटरेबल पुल, अधुरा सडक, रिङरोड, बसपार्क तथा खेलमैदान निर्माणका लागि योजना समावेश गराईदिन मन्त्री समक्ष माग गरेको हो ।
झापाको मेचीनगर स्थित बाहुनडाँगीबाट सुरू भएर देशका १४ वटा जिल्लालाई जोड्ने मदन भण्डारी राजमार्ग (चुलाचुली चुरे राजमार्ग) वा मदन भण्डारी लोकमार्गको स्थलगत निरीक्षण गर्न क्रममा झापा आईपुग्नु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाकातर्फबाट निमित्त नगर प्रमुख मीना पोखरेल उपे्रतीले उक्त माग पत्र पेश गर्नुभएको हो ।
मागपत्रमा सडक, पुल तथा बसपार्क र खेल मैदालाई समेटिएको छ । सडक अन्तर्गत संघीय निर्याचन क्षेत्र स्तरीय रणनीतिक सडक राधास्वामी, भावना चोक, स्याङल्याङटार, इलाम जोडने सडकको बाँकी छ किलोमिटर निरन्तरता, मेची करिडोर काँकरभिट्टा, बाहुनडाँगी र सलकपुरको निरन्तरता र मेचीनगरक्षेत्रका रिङरोडलाई समेटिएको छ । मेचीनगर २ र ३ नम्बर वडामा पर्ने भावना चोक भृकुटी जोड्ने र मेचीनगर १५ नम्बर वडाको चौधरीचोक हेल्दुबारी जोड्ने निन्दा खोलामा पुल निर्माणका लागि डिपिआर सडक विभागमा रहेको तथा निर्माणधि अवस्थामा रहेको सुके निन्दा खोलाको पुलका लागि बजेट अभाव रहेको र सडक डिभिजन कार्यालय दमकमा यस विषयमा जानकारी गराईएको मागपत्रमा उल्लेख छ ।
मेचीनगर वडा नम्बर १ को तिरीङ खोलामा पुल र मेचीनगर ११ कालकिा सामुदायिक बनबाट डिपु डाँडासम्म् वडा कार्यालय जाने बाटोको हडिया खोलामा पुल निर्माणका लागि माग गरिएको छ । बसपार्कतर्फ अन्तर्राष्ट्रिय सिमानामा रहेको नेपालको पूर्वीद्वार काँकरभिट्टामा रहेका बसपार्क लाई टर्मिनल भवनसहितको सुविधा सम्पन्न बसपार्क निर्माण गर्न र त्यसका लागि डीपीआर तयार भइसकेको समेत माग पत्रमा भनिएको छ । यसैगरी, सुविधा सम्पन्न रंगशालाका लागि समेत मन्त्री दाहाल समक्षा माग गरिएको छ ।
मागपत्रप्रति आफु सकरात्मक रहेको र आफु पनि झापा जिल्लाबासी भएकाले यहाँका हरेक समस्याका बारेमा आफुलाई राम्रोसँग जानकारी रहेकाले सम्बन्धित निकायसँग छलफल गरी प्राथमिताका आधारमा मन्त्रालयले यी समस्याका बारेमा समबोधन गर्ने मन्त्री दाहालले आश्वसन दिनुभयो । हरेक समस्या पहिल्याएर समाधान गर्नु सरकारको पहिलो कर्तव्य भएकाले प्राथमिकताका आधारमा योजना सरकार समक्ष प्रस्तुत गर्न उहाँले सुझाव दिनुभयो ।
नगरपालिकाले मेचीनगरको १ नम्बर वडा कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दैं मन्त्री दाहालले झापाको उत्तरतर्फ बाहुनडाँगीलाई केन्द्रविन्दु बनाएर भारतसँग सोझो सम्पर्क हुने मितेरी पुलको निर्माण आफुले परिकल्पना गरेको स्पष्ट पार्नुभयो । यसले गर्दा दुईदेशबीच हुने व्यपारलाई समेत सहुलियत पुग्ने र दुवै देशका नागरिकबीचको सम्बन्ध समेत अझ समधुर बन्दैं जाने र मदन भण्डारी राजमार्गको निर्माण सकिएपछि मितेरी पुलको आवश्यकता मन्त्री दाहालले औल्याउनुभयो । यसका लागि प्रधानमन्त्री तहबाट भारतीय समकक्षीसँग छलफल गरि पुल निमार्ण सके नेपाल भारत दुवै देशबीच अनुश्रित सम्बन्ध हुने हुँदा मन्त्री समक्ष संविधान सभा सदस्य रविन कोइरालाले ध्यानकर्षण गराउनु भएको थियो । यसप्रति आफ्नो ध्यानाकर्षण भएको र यसका लागि विभागिय मन्त्री भएकाले मन्त्रालयकातर्फबाट पहल गर्ने मन्त्री दाहालले आश्वासन दिनुभयो ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्ने र यो राजमार्ग एमालेको परिकल्पना भएको मन्त्री दाहालले बताउँनुभयो । यो सडकले भित्री मधेससहित चुरे क्षेत्रका जिल्लाहरुलाई विकासको नयाँ ढोका खोल्ने मन्त्री दाहालको दाबी छ । राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुदैं सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्ने छ । मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्नेछ । राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो ।
आफ्नो भागमा तीनवटा विभाग र एउटा कार्यालय रहेका कारण यसको व्यवस्थित गर्नु पहिलो जिम्मेवारी रहेको मन्त्री दाहालको भनाई थियो । सडक कालोपत्रे, बाटाघाटा, ड्रेन, पुल, कल्भर्टजस्ता संरचना निर्माणमात्र विकास नभएर जनताको चेतना, रोजगारी, उत्पादनमा वृद्धि गर्ने, उद्योग कलकारखाना स्थापना चाँहि मुख्यः विकास भएको भन्दैं अब प्रदेश र स्थानीय सरकारहरु त्यसतर्फ लाग्नुपर्ने बताउँनुभयो । रेलमार्ग सम्भव रहेको र दक्षिण एशियासँग रेलमार्ग जोड्न सके व्यपार बढ्ने, पानी जहाज सञ्चालनमा समेत मन्त्री दाहालले जोड दिनुभयो ।
संसदका दुई ठुला दलहरु मिलेर बनेको यो सरकारबाट नेपाली जनताले निक्कै कुराको आशा गरेको र विश्वास लिएको हुदाँ जनताको आशा र भरोशाको केन्द्र बन्नका लागि पनि यो सरकार समक्ष थुप्रै काम गर्न बाकी रहेको मन्त्री दाहालको भनाई थियो । अब देशमा स्थायी सरकार बन्छ, समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुन्छ भन्ने विश्वास नेपाली जनतामा रहेको उहाँको भनाई थियो । बाहुनडाँगी जंगली हात्तीको पीडाबाट मुक्त हुन खोजी रहेको भन्दैं यसको दिर्घकालिन समाधानका लागि हात्ती मैत्री कसरी बनाउने भन्दैं छुट्टै परियोजना बनाएर काम गर्ने बताउँनुभयो । हात्ती समाधानका लागि दीर्घकालीन रूपमा सुरक्षा राहत र हात्ती रोक्न पहलकदमी यो सरकारको प्रामिकतामा रहेको उहाँको भनाई थियो ।मेचीनगरको थुप्रै समस्याका सन्दर्भमा ध्यानाकर्षण भएको र विभाग शाखाहरुसँग थप अध्ययन छलफल गर्ने र समाधानतर्फ लाग्ने उहाँको भनाई थियो ।
मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश र समसामयिक विषयमा मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । १ नम्बर वडाका वडाध्यक्ष रामकुमार राईले सञ्चालन गर्नुभएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, होमबहादुर थापा, गोपाल तामाङ, गौरादह नगरप्रमुख छत्रपति सुवेदी, विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, कोशी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान प्रमुख विमल आचार्य, जनप्रतिनिधिहरु, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, कृष्ण कनाल, जिल्ला, नगर, क्षेत्र कमिटीका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।