मेचीनगर, फागुन १५: मेचीनगर नगरपालिकाले विकास निर्माणका योजना तीव्र रूपमा अघि बढाउँदै ‘योजना मोनिटरिङ प्रणाली’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा ९२९ वटा योजना तथा कार्यक्रम अघि बढाइएका छन्। नगरपालिकाका पूर्वाधार विकास समिति संयोजक चित्र धिमालका अनुसार हालसम्म २८ वटा योजना पूरा भई भुक्तानी भइसकेका छन्, २३ वटा योजना सम्पन्न भइसकेका छन्, ४१ वटा योजना कार्यदेशअनुसार सञ्चालनमा छन्, ३५ वटा योजनाका लागि सम्झौता भइसकेको छ भने २ वटा योजनाको बोलपत्र आह्वान भइसकेको छ। यस्तै, १० वटा लागत अनुमान स्वीकृत भएका छन्, १३ वटा योजनाका लागि उपभोक्ता समिति गठन गरिएको छ, १८८ वटा योजना कार्यान्वयनमा छन् भने ७४१ वटा योजना प्रक्रिया अघि बढाउने तयारीमा छन्।
नगरपालिकाका विभिन्न शाखाहरूमार्फत योजनाहरू कार्यान्वयनमा छन्। पूर्वाधार विकास शाखाअन्तर्गत ८७ मध्ये २३ योजना, शिक्षा शाखामा २२ मध्ये ११, स्वास्थ्य शाखामा २० मध्ये २, महिला तथा बालबालिका शाखामा ११ मध्ये २, कृषि शाखामा २६ मध्ये ८, पशु शाखामा १२ मध्ये ९, प्रशासन तथा योजना अनुगमन शाखामा २० मध्ये १, सामाजिक विकास शाखामा ४३ मध्ये १० र वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन शाखामा ९ मध्ये २ योजना सञ्चालनमा छन्।
पन्ध्रवटा वडामा पनि निर्माण कार्य धमाधम भइरहेको छ। वडा नं. १ मा ४३ मध्ये ७, वडा नं. २ मा ४२ मध्ये ८, वडा नं. ३ मा ४५ मध्ये २७, वडा नं. ४ मा ७३ मध्ये ११, वडा नं. ५ मा ४१ मध्ये २०, वडा नं. ६ मा ५० मध्ये १२, वडा नं. ७ मा ५२ मध्ये ११, वडा नं. ८ मा ४८ मध्ये २, वडा नं. ९ मा ३१ मध्ये २, वडा नं. १० मा ४७ मध्ये ६, वडा नं. ११ मा २७ मध्ये ५, वडा नं. १२ मा ४१ मध्ये ८, वडा नं. १३ मा ३६ मध्ये ३, वडा नं. १४ मा ४५ मध्ये २ र वडा नं. १५ मा ४६ मध्ये ५ योजना सञ्चालनमा छन्।
नगरपालिकाले पारदर्शिता र जनसहभागिता बढाउन ‘योजना मोनिटरिङ प्रणाली’ सञ्चालनमा ल्याएको छ। प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार, यस प्रणालीमार्फत प्रत्येक वडा कार्यालय तथा शाखाहरूको दैनिक प्रगति विवरण नगरपालिकाको वेबसाइटमा राखिनेछ, जसले नगरबासीलाई सबै गतिविधि अवलोकन गर्न सहज हुनेछ। नगरपालिकाको यो पहलले विकास निर्माणमा पारदर्शिता कायम गर्दै योजनाहरू समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।




































