१६ वैशाख, मेचीनगर : महिलाहरूको आत्मनिर्भरता र सामाजिक सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले नारी विकास सीप केन्द्रद्वारा सञ्चालित दुई महिने सिलाई कटाई तालिम मेचीनगर नगरपालिका वडा नं. ६ मा सम्पन्न भएको छ। तालिम २०८१ माघ २५ देखि चैत्र २५ गतेसम्म सञ्चालन गरिएको थियो।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष ललित बहादुर तामाङ रहनु भएको थियो। उहाँले मन्तव्य दिँदै भन्नुभयो, “महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले वडाले यो तालिमका लागि विशेष बजेट छुट्याएको हो। यस्ता तालिमले समुदायको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु।”
विशिष्ट अतिथि कार्यपालिका सदस्य अन्जु थापा, साथै वडा सदस्यहरू भविन्द्र सुब्बा र सीमा रसाइली अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सहभागीहरूको तर्फबाट अम्बिका रायमाझी निरौलाले मन्तव्य दिँदै, यस्तो सीपमूलक तालिमले महिलाहरूमा आत्मविश्वास र नयाँ अवसरको ढोका खोलिदिएको बताइन्।
तालिमकी प्रशिक्षक भवानी खड्काले कटिङ, डिजाइनिङ र सिलाईका विविध सीपहरू सहभागीहरूलाई सिकाइएको जानकारी दिँदै सबैले लगनशील र उत्साहका साथ प्रशिक्षण लिएको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता मीनाकुमारी कटुवालले गर्नुभएको थियो। उहाँले धन्यवाद मन्तव्य दिँदै सहभागी, प्रशिक्षक, अतिथि र सहयोगीहरूप्रति आभार प्रकट गर्नुभयो। स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रीता थापाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव भगिरथ राईले गर्नुभएको थियो।
तालिमका लागि मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट रु १,५०,००० को आर्थिक सहयोग प्रदान गरिएको थियो।
नारी विकास सीप केन्द्रका अनुसार तालिमपछि सहभागी महिलाहरू आफ्नै घर वा समुदायमा सिलाई पेशा सुरु गर्न सक्नेछन्, जसले उनीहरूको आर्थिक अवस्था सुधार गर्ने मात्र होइन, परिवार र समाजमा पनि आत्मसम्मान र योगदानको अनुभूति दिलाउनेछ।









































