कोरोना भाइरसको विश्वव्यापी माहामारीले आज विश्व आक्रान्त बनेको छ । सामरिक रूपमा अत्याधुनिक हातहतियारले सुशोभित शक्तिसम्पन्न राष्ट्रदेखि आर्थिक रूपमा विश्वको ठूलो अर्थतन्त्रको दुहाई दिने राष्ट्रसम्म आज कोभिड १९ को महामारीका कारण थिलथिलो भएका छन् । कोभिड १९ को महामारीसामू विश्वमा अब्बल दर्जाका ठानिएका स्वास्थ्य सेवाहरू समेत निकम्मा साबित भइरहेका छन् । महामारी सुरुवातको चरणमा कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएर सारा आरोप चीनमाथि थोपर्न खोज्ने पश्चिमा राष्ट्रहरू स्वयम् आज महासङ्कटको सामना गरिरहेका छन् ।
जुनसुकै कारणबाट सुरु भएता पनि चीनबाट सुरु भएको मानिएको कोभिड १९ आज विश्वका दुई सयभन्दा बढी मुलुकमा फैलिसकेको छ । पछिल्लो चरणमा नेपालमा समेत महामारीको रूपमा फैलिएको कोरोेना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएको देखिन्छ । सङ्क्रमणको विस्तारसँगै पक्ष र विपक्षमा बहस पनि बाक्लिँदै गएको छ । अझ खासगरी सामाजिक सञ्जालमा सरकारको लापरवाहीका कारण कोरोना नियन्त्रणभन्दा बाहिर गएको आरोपदेखि लिएर सरकार निकम्मा भएको सम्मका समाचार, विश्लेषण तथा टिप्पणीहरू प्रशस्तै प्रकाशित भएका छन् । अर्कोतर्फ सरकार दैनिक औपचारिक प्रेस ब्रिफिङ मार्फत जनस्तरमा गरिएको बेवास्ता र लापरवाहीका कारण कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको आरोप लगाइरहेको छ ।
जेजस्तो आरोप लगाए तापनि, कमजोरी जसको भएता पनि कोरानाको महामारी भने दिन दुई गुना रात चौगुना फैलिरहेको छ । कोरोनाको महामारी विस्तारसँगै सरकारदेखि आम जनसमुदायसम्म सन्त्रास र लाचारीपन दुवै बढेको छ । कोरोना महामारी नियन्त्रणका नाममा सरकार लकडाउन वा अन्य कुनै माध्ययमबाट हस्तक्षेप गर्ने अवस्थामा देखिँदैन भने सर्वसाधारण पनि सावधानीका नाममा आफ्नो दैनिकी बन्द गर्नसक्ने अवस्थामा छैनन् । दिनानुदिन परिस्थिति जटिल बन्दै गएको अवस्थामा आरोप प्रत्यारोप र त्यसको समीक्षा उपयुक्त समयमा गर्नेगरी हाल प्रत्येक नागरिकले आफ्नो कर्तव्यलाई प्राथमिकतामा राखेर कार्य गर्नु जरुरी छ । म आफू पनि कोरोना पोजिटिभबाट सङ्क्रमण र त्यसपछि नेगेटिभ प्रमाणित भएको व्यक्ति भएका कारण सङ्क्रमणको चरणमा मैले भोगेका अनुभव र सङ्क्रमण मुक्त हुने क्रममा अपनाएका तरिका तथा विधिहरू प्रस्तुत गर्न लागिरहेको छु । सम्भावित सङ्क्रमणमा पर्नसक्ने मित्र तथा मान्यजनहरुका लागि केही सहयोगी हुनसक्ने विश्वासका साथ यहाँ केही चर्चा गर्ने प्रयास गरेको छु ।
सङ्क्रमण पूर्वको सावधानीः
कोरोना सङ्क्रमणबाट बच्ने उपायका बारेमा सरकारीदेखि गैरसरकारी स्तरमा व्यापक चर्चा परिचर्चा हुने गरेकाले मैले त्यस विषयमा यहाँ धेरै लेख्न चाहिनँ । त्यसक्रममा छुटेको जस्तो लागेको केही विषयमा भने चर्चागर्नु आवश्यक ठान्दछु । सङ्क्रमणपूर्व मुख्यतया निम्न क्षेत्रसँग सावधानी अपनाउन आवश्यक छ ।
व्यक्तिगत रूपमा सङ्क्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरुः जसका बारेमा प्रसस्तै चर्चा हुने गरेकाले यहाँ चर्चा गरिएन ।
समुदायलाई सङ्क्रमणबाट बचाउने उपायहरूः यसका बारेमा पनि प्रायः चर्चा हुने गरेकाले यहाँ चर्चा गर्नु आवश्यक ठानिएन ।
परिवारलाई सङ्क्रमणबाट बचाउने उपायहरूः यस विषयमा भने चर्चा नहुने वा साह्रै कम चर्चा हुने गरेको महसुस भएका कारण यस विषयमा आफ्ना केही अनुभव यहाँ सेयर गर्ने प्रयास गरेको छु ।
आफ्नो भूमिका र जिम्मेवारीका आधारमा परिवारका कतिपय सदस्यहरु प्रायः गरेर घर बाहिर पेसा, व्यवसाय, कर्म, सामाजिक जिम्मेवारी आदिका आधारमा विभिन्न भूमिकामा जानुपर्ने हुन्छ । अहिलेको महामारीमा घर बाहिरबाट घर फर्कदा कुनै न कुनै रूपमा घरमा कोरोना सङ्क्रमणको अधिक सम्भावना रहन्छ । जसबाट परिवारका सदस्यमा सङ्क्रमणको अधिक सम्भावना रहन्छ । परिवारलाई सङ्क्रमणबाट बचाउन प्रत्येक व्यक्तिले न्यूनतम निम्न शर्तहरु पालना गर्न अनिवार्य छ ।
१. बाहिरबाट आएर घर प्रवेश गर्नुपूर्व अनिवार्य साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरेर मात्र घर प्रवेश गर्ने ।
२. खाना खाने क्रममा सबैजनाले आफूले खाएको थाल बटुका ग्लास आदि साबुन पानीको प्रयोग गरेर आफैंले सफा गर्ने ।
३. आफूले खाना खाएको ठाउँ साबुन पानी प्रयोग गरेर आफैंले सफा गर्ने ।
४. खाना पकाएका भाँडा अनुकूलता अनुसार सबै मिलेर सफा गर्ने ।
५. आफूले लगाएको र ओडे ओच्छ्याएको कपडा दैनिक रूपमा आफैं धुने ।
६. श्रीमान–श्रीमती वा छोराछोरीको सुताई सम्भव भएसम्म एक्ला एक्लै गर्ने ।
७. प्रत्येक व्यक्तिले शौचालय वा बाथरुमको प्रयोग गरिसकेपछि अनिवार्य विशेष सावधानीपूर्वक सरसफाई गर्ने ।
८. परिवारका प्रत्येक सदस्यले छुट्टा छुट्टै टुथपेष्टको प्रयोग गर्ने ।
९. नुहाउने क्रममा छुट्टा छुट्टै तौलिया र साबुनको प्रयोग गर्ने ।
सङ्क्रमण अवधिको सावधानीः
सङ्क्रमण लक्षणसहित वा लक्षणरहित दुवै हुन सक्छन् । सङ्क्रमण नदेखिएको अवस्थामा कन्ट्रयाक ट्रेसिङका आधारमा वा आफूलाई शङ्का भएका आधारमा पिसिआर परीक्षण गराउँदा पनि सङ्क्रमण देखापर्न सक्छ । यात आफूलाई केही लक्षण देखिएका आधारमा पिसिआर टेस्ट गर्दा पनि सङ्क्रमण देखापर्न सक्छ । जुनसुकै कारण वा प्रक्रियाबाट सङ्क्रमण देखापरे पनि सावधानीको प्रक्रिया सुरुवात गरिहाल्नु पर्दछ । अहिलेसम्मको अभ्यासमा लक्षण देखा नपरेका सङ्क्रमितको तुलनामा लक्षण देखापरेका सङ्क्रमितलाई बढी गाह्रो भएको पाइएको छ । सङ्क्रमण अवधिमा अस्पताल वा होम आइसोलेसन जहाँ बसे पनि मेरो आफ्नै भोगाईका आधारमा निम्न अनुसारको नित्यकर्म निकै उपलब्धिमूलक हुने महसुस गरेको छु ।
१. तातो पानी अत्याधिक मात्रामा पिउनेः सामान्यतया प्रत्येक दुई घण्टामा अनिवार्य रूपमा करिब आधा लिटर सहन सक्नेसम्मको तातो पानी पिउने, तातोपानीमा प्रत्येक पटक अदुवा, बेसार, मेथीको धुलो, ज्वानो, तुलसीको पत्ताजस्ता घरेलु औषधीको उचित मात्रा मिलाएर खाने । दिनमा होस् वा रातमा, बिहान होस् वा बेलुका जतिबेला श्वास फेर्न गाह्रो हुन्छ, तातो पानी अनिवार्य सेवन गर्ने । यो एउटा अचुक उपचार हुन सक्छ ।
२. पानीको बाफ लिनेः कोरोणा सङ्क्रमणको क्रममा लक्षण देखिएमा कम्तीमा दिनमा तीनपटक र लक्षण नदेखिएमा कम्तीमा दुईपटक पानीको बाफ लिन अनिवार्य छ । बाफ लिने क्रममा सुरुमा स्वीचो एकथोपा प्रयोग गर्नु राम्रो मानिए पनि लगातार स्वीचो वा भिक्सको प्रयोग त्यति स्वस्थ्यकर नमानिने रहेछ । पानीको बाफ लिने क्रममा पुदिनाको पत्ता र निमको पत्ता मिलाउनु भने उत्तम मानिने रहेछ । उम्लँदा उम्लँदैको पानीबाट सिधँ बाफ नलिएर झिकेर करिब पाँच सात सेकेण्ड राखेर बाफ लिनुपर्ने रहेछ । जसले गर्दा छालाको बचाउ पनि हुने रहेछ । बाफ लिने बित्तिकै अनुहार पुच्ने गल्ती कहिलै गर्नु हुन्न । बाफ लिनासाथ सुक्खा कपडा अनुहारमा जोडेर पानी सोचाउन भने सकिन्छ ।
३. ध्यान, प्रणायाम तथा योगसाधनाः कोरोना सङ्क्रमण भएको समयमा शरीरलाई अधिकभन्दा अधिक तातो अर्थात् हिटमा राख्नुपर्ने रहेछ । त्यसका लागि ध्यान, प्रणायाम तथा योगसाधना उत्तम उपाय हुने रहेछ । यसबेला शरीरलाई बढी थकान हुने भएकाले शरीरलाई कठिन हुने खालका प्राणयाम र व्यायाम भने सङ्क्रमणको समयमा गर्न हुँदैन । सङ्क्रमणका समयमा सामान्य प्रकारका प्रणायम जस्तै भास्त्रिका प्राणायम, ओमकार प्रणायाम, कपालभाती प्रणायाम, भ्रामरी र अनुलमबिलोम मात्र गर्नु उपयुक्त मानिन्छ । त्यसैगरी व्यायाम अन्तर्गत पूर्ण व्यायाम नगरी सुक्ष्म व्यायाम मात्र गर्नु राम्रो हुनजान्छ । ध्यान भने आफ्नो अनुकूलता अनुसार गर्न सकिने छ ।
४. खानपिनः सङ्क्रमणको बेला जिब्रोले खानाको कुनै स्वाद नपाउने भएकाले खानामा कुनै प्रकारको रुची हँुदैन । तर पनि पौष्टिकतापूर्ण झोलिलो खानेकुरा खानु अति आवश्यक हुन जान्छ । यो बेला दूध बेसार मिलाएर खानु उत्तम हुन जान्छ । त्यसैगरी मह, च्यावनप्रास, दाल, गेडागुडीको रस, माछामासुको रस (ज्वरो कम भएपछि मात्र) आदि खानु राम्रो मानिन्छ । सबै प्रकारका फलफूललाई प्राथमिकतामा राखेर खानुपर्छ । तर फलफूल खाँदा अनिवार्य रूपमा तातोपानीमा करिब पाँच मिनट डुबाएर मात्र खानु पर्दछ । अन्यथा निमोनियाको खतरा हुनसक्छ । स्वास प्रश्वासमा कठिनाई भएमा प्रत्येक पाँच मिनटमा मरिचको दाना मुखमा हालेर चपाउनु उपयुक्त हुने रहेछ ।
५. औषधी सेवनः कोरोना भाइरस निर्मुल पार्ने औषधी पूर्णरूपमा प्रयोगमा आइनसकेको सर्वविदितै छ । त्यसकारण ज्वरो आएको अवस्थामा बिहान बेलुका एक–एकपटक वा डाक्टरको सल्लाह अनुसार पारासिटामोल सेवन अनिवार्य मानिन्छ । सामान्य लक्षण देखिएमा डाक्टरको सल्लाह अनुसार एन्टिबायोटिकको डोज र भिटामिन सी र डी प्रयोग गर्नु उपयुक्त हुने रहेछ ।
५. डाक्टरसँगको नियमित सम्पर्कः लक्षण नदेखिएका सङ्क्रमितको हकमा डाक्टरसँगको नियमित सम्पर्क त्यति बाध्यकारी नभए पनि लक्षण देखिएका सङ्क्रमितहरुको हकमा भने होम आइसोलेसनमा बसेको अवस्थामा पनि डाक्टरको नियमित सम्पर्क र सल्लाह अनिवार्य हुन जान्छ । किनकि कुनै पनि बेला बिमारीलाई अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ ।
६. व्यक्तिगत सरसफाइमा जोडः सङ्क्रमणको समयमा व्यक्तिगत सरसफाई अत्यन्तै संवेदनशील हुन जान्छ । प्रत्येक दिन तातोपानीले नुहाउन अनिवार्य छ । सङ्क्रमितले लगाएका र ओडे ओछ्याएका कपडा प्रत्येक दिन भरसक तातोपानीले बिरामी स्वयम्ले सफा गर्नुपर्दछ । बिरामी आइसोलेसनमा बसेको कोठा बिरामी स्वयम्ले प्रत्येक दिन फिनेल लगाएर पुछ्नु पर्दछ । सङ्क्रमित व्यक्तिले थुक, खकार, सिँगान वा र्याल कुनै पनि हालतमा झ्याल ढोका बाहिर फ्याक्ने वा कुनामा फ्याक्ने जस्ता कार्य गर्नु हुँदैन ।
७. बन्दोबस्तीका सामान व्यवस्थापनः सङक्रमित होम आइसोलेसनमा बस्नुपर्ने भएमा कोठामा पेडल डस्टबिन (बिर्को भएको फोहोर राख्ने टोकरी), पानी तताउने भाँडो, तातोपानी राख्ने थर्मस, तातो पानीको बाफ लिने भाँडो, खाना खाने थाल, बटुका, ग्लास, चम्चा लगायतका बन्दोबस्तीका सामानको व्यवस्थापन अनिवार्य गर्नुपर्छ ।
८. संगीत श्रवणः सङ्क्रमणको समयमा भिडियो संगीतभन्दा अडियो संगीत सुन्नु राम्रो मानिन्छ । अडियो संगीत पनि स्लोमोसनको सुन्नु अझ बढी राम्रो जस्तो लाग्यो । सङ्क्रमणको समयमा सकेसम्म कोरोना सम्बन्धी समाचार नसुन्ने सल्लाह डाक्टरहरुले पनि दिँदा रहेछन् ।
९. अक्सिजन र अक्सोमिटरको व्यवस्थापनः बिरामीमा लक्षण देखा परेको छ र होम आइसोलेसनको बसाई छ भने कुनै पनि बेला अक्सिजन आवश्यक पर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर अक्जिनको व्यवस्थापन जरुरी हुनजान्छ । त्यसैगरी बिरामीको अक्सिजनको मात्रा बेलाबेलामा जाँच गर्न अक्सोमिटरको व्यवस्था पनि होम आइसोलेसनको अवस्थामा अनिवार्य गर्नुपर्ने हुन जान्छ । समय समयमा ज्वरोको मात्रा मापनका लागि साथमा थर्माेमिटर पनि अत्यावश्यक हुने रहेछ ।
१०. पिसिआर पुनः परीक्षणः एकपटक कोराना पोजिटिभ भएका व्यक्तिले लक्षण देखिएको हकमा कम्तीमा चौध दिनपछि र लक्षण नदेखिएकाको हकमा कम्तीमा दश दिनपछि मात्र पुनः पिसिआर टेष्ट गर्नु उपयुक्त मानिने रहेछ ।
सङ्क्रमण मुक्तपछिको सावधानीः कोरोना पोजिटिभ देखिएका व्यक्तिहरुमा पुनः परीक्षणबाट नेगेटिभ आउनासाथ पूर्ववत अवस्थामा स्वतन्त्रतापूर्वक आफ्ना गतिविधि भने अगाडि बढाउनु ठूलो गल्ती हुन जानेछ । डाक्टरहरुका अनुसार पुनः परीक्षणबाट नेगेटिभ नतिजा आएता पनि कम्तीमा सात दिनसम्म सावधानी र सतर्कता अपनाउनु पर्ने हुन्छ ।
आफ्नो भोगाइका अनुभव र लक्षणहरुः
म आफू कोरोना पोजिटिभ पुष्टि हुनुभन्दा पहिला कोरोना बारेमा मैले बनाएको धारणा र कोरोना सङ्क्रमण पछिको धारणामा परिवर्तन आएको छ । सङ्क्रमणपूर्व कोरोना लागि हालेता पनि सजिलै परास्त गर्न सकिन्छ भन्ने मेरो धारणा रहेको थियो । म आफूलाई स्वास्थ्यको बारेमा सचेत रहेको र मेरो स्वास्थ्यमा हालसम्म कुनै समस्या नभएका कारण यदि कोरोना लागि हालेता पनि सजिलै परास्त गर्न सकिन्छ भन्ने विश्वास थियो । तर, जब म सङ्क्रमित भएँ त्यसपछि मलाई सोचेभन्दा निकै गाह्रो पार्यो । मलाई सङ्क्रमणपूर्व नै केही लक्षणहरू देखिएका थिए । सङ्क्रमणका क्रममा पनि थप लक्षणहरू देखिए । सङ्क्रमण परास्त गर्न सक्ने आत्मविस्वास ममा सुरुदेखि नै थियो । त्यसकारण म पूर्ण संयमित अवस्थामा थिएँ । मेरो र परिवारको चेतनाले भ्याएसम्मका स्वास्थ्य सुरक्षा सतर्कताका सबै उपायहरू अवलम्बन गर्दै विशेषज्ञ डाक्टरको निगरानीमा होम आइसोलेसनमा बसेर नै स्वास्थ्य लाभ गर्दै कोरोना परास्त गर्न सफल भइयो ।
सङ्क्रमणका क्रममा आफूले महसुस गरेका लक्षण र विशेषताहरूः
परीक्षणको दुई दिन अगाडि सुरु भएको ज्वरो परीक्षणपछि पनि आठ दिनसम्म लगातार आइरहेको ।
परीक्षणभन्दा करिब १५ दिन अगावै सुरु भएको सुख्खा खोकी परीक्षणको दश दिनसम्म पनि लगातार जारी रहेको ।
करिब आठ दिनसम्म खानाको स्वाद नरहेको ।
रातको समयमा सुत्न र श्वास फेर्न असाध्य गाह्रो भएको ।
गला अवरुद्ध भई श्वास प्रश्वासमा कठिनाइ भएको ।
करिब १० दिनसम्म असाध्य धेरैपटक दिसाका लागि शौचालय जानु परेको ।
दिसा अलकत्रजस्तो असाध्यै कालो गएको ।
जिउ थामिएर बस्न गाह्रो भएको ।
बेलाबेला छाती दुख्ने गरेको ।
हात खुट्टा लगायत शरीरका विभिन्न भाग पटक–पटक बाउँडिएको ।
करिब आठ दिनदेखि शरीरमा असाध्य कमजोरी महसुस भएको ।
अन्त्यमाः
विश्वव्यापी तहल्का मच्चाउने गरी फैलिएको कोभिड १९ को सङ्क्रमण ममा नभइदिएको भए यसलाई नजिकबाट चिन्ने र आफू साक्षात्कार हुने अवसर सायद प्राप्तहुने थिएन होला । त्यसकारण कोभिड सङ्क्रमणलाई मैले अवसरको रूपमा लिँदै यसबाट पनि शिक्षा लिने प्रयास गरेको छु । कोभिड १९ सावधानीका बाबजुद जो कोहीलाई पनि हुनसक्छ । तर, आत्मविश्वास र अनुशासनले मात्र यसलाई परास्त गर्न सकिने मेरो अनुभव छ । यसैक्रममा आफ्ना भोगाई र अनुभवहरू अन्य सम्भाव्य सङ्क्रमितहरूका लागिसमेत उपयोगी हुनसक्ने विश्वासका साथ यस आलेख मार्फत सबैसामू पस्कने जमर्को गरेको हुँ ।
अप्ठेरो परेका बेला सबैले साथ, सहयोग र सद्भावको खोजी गर्दो रहेछ । कोभिड १९ को सङ्क्रमणसँग जुधिरहेको समयमा छोरो छिट्टै निकोहोस् भनेर बिहान बेलुकै इश्वरसँग प्रार्थना गर्नुहुने ८६ वर्षीया आमा, आफ्नो स्वास्थ्यको प्रतिकूलताका बाबजुत मेरो रेखदेख हेर विचारमा अलिकति पनि कमी हुन नदिइ अहोरात्र खट्ने जीवन संगिनी र छोरी, आफू स्वयम् ज्वरोका कारण बिमारी भएर पनि बाबुको स्वास्थ्य अवस्थाको बारेमा हरक्षण चिन्तापूर्वक खोज खबरी गर्ने छोरो, होम आइसोलेसनको अवस्थामा विशेष सल्लाह र सुझाव दिनुहुने वरिष्ठ फिजिसियन विशेषज्ञ डाक्टर पिताम्बर ठाकुर, हरेक अप्ठ्यारो परिस्थितिमा साथ दिने पत्रकार भाइ सिस्नो, परिवारमा कोरोना सङ्क्रमणबाट चिन्तित परिवारजन, आफन्त तथा नातेदार, संस्था परिवार, सहकारी बंैक एवम् महासंघ परिवार, पार्टी परिवारलगायत स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण शुभेच्छुक एवम् इष्टमित्रहरूमा हार्दिक आभार साथै कृतज्ञता व्यक्त गर्दछु ।