काँकरभिट्टा | दसैं र तिहार सकिएलगत्तै अहिले अर्को महत्वपूर्ण पर्व छठको चहलपहल सुरु भइसकेको छ । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मंसिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । खासगरी छठमा फलफूलको बढी प्रयोग हुने गर्दछ । यसले गर्दा फलफूलको समेत विक्री बढेको व्यवसायीहरुको भनाई छ ।
छठ पर्वका लागि चहलपहल शुरु भएको छ । बजारमा छठमा प्रयोग हुने फल केरा किन्नेहरुको भिड लागेको छ । तर, मुल्यमा बृद्घिभएकाले सर्वसाधारणहरु मारमा परेका छन् ।
छठ पर्वको मुख्य दिन चाहिने केराको मुल्य एक्कासी बृद्घि हुँदा मारमा परेको सर्वसाधारणले बताईरहदा विक्रेताहरु भने आफूहरले पनि मंहगो मूल्यमा खरिद गरेका कारण विक्री पनि सोहि अनुसार गर्नुपर्ने बताउछन् । छठका बखत बजारमा केराको मुल्य बढेको बताउँदै फलफूल व्यवसायी जयनारायण सहनी आफ्नो खरिद नै मंहगो भएकाले मंहगो मै विक्री गर्नुपरेको बताउनुहुन्छ ।
अहिले नोवल कोरोना भाइरस काभिड १९ का कारण माग अनुसारको केराको आपूर्ति नहुँदा समस्या भएको र गर्दा उपभोक्तहरु दोब्बर मूल्य तिरेर केरा किन्न बाध्य भएको उहाँको भनाई छ । छठ पर्वमा केरा महत्वपूर्ण फल हो । यसैका कारण छठका बखत केराको माग बढ्ने गरेको छ ।
यसअघि प्रति घरीको साढे सय रुपैयाँ पर्ने केराको मुल्य बढेर अहिले ६ सय रुपैयाँसम्म पुगेको एस एम के फुट्स ट्रेडर्सका सञ्चालक विनोद सहनीको भनाई छ ।
नगरमा छठ पर्वको लागि चम्पा केरा, मिर्चमान केरा र गोपाल केरा आउने गर्दछ । तर यस पटक गएको वर्ष भन्दा करिब ३० देखि ५० प्रतिशतले केराको आयातमा कमी आएको फलफूल व्यवसायीको भनाई छ । त्यसकारण पनि केराको मूल्यमा वृद्धि भएको व्यवसायी बताउछन्
फलफूल व्यवसायी जयनारायण यादवले यसपटक केराको बजार मूल्य अत्याधिक बढेको स्वीकार गर्नुभयो । उहाँका अनुसार बजारमा माग अनुसारको केराको आपूर्ति नहुँदा तथा छठ पर्व परेका कारण पनि बजारमा केराको मूल्य बढेको हो ।
छठ पर्वकै लागि मेचीनगरमा अत्यधिक केरा आउने गरेको थियो । छठ पर्वमा प्रसादका रुपमा प्रयोग हुने भोगटे, केराको घरी, नरिवल, उखु, बेसार, अदुवा लगायतका फलफूलको विक्री बढेको व्यापारीहरु बताउँछन् । बजारमा कोनिया, ढाकी, केरा, नरिवल, भोगटे, माटोका घैला, पालालगायत छठका लागि आवश्यक सामग्रीको कारोबार बढेको छ । सर्वसाधारणले भने यी सामग्रीहरुको विक्री बढेसँगै मूल्यसमेत बढेको गुनासो गरेका छन् । अन्य समयभन्दा ३ गुणा बढी मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ ।
उनीहरुका अनुसार अन्य समयमा १ सय ५० रुपैयाँ पर्ने नाङ्लोलाई अहिले बजारमा १ सय देखि २ सय रुपैयाँ, यस्तै कोनियालाई ८० रुपैयाँ र ढाकीलाई २ सयदेखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ । छठमा माटोबाट बनाइएका सामग्रीहरुको समेत विक्री बढेको छ । माटोको घैंटो, दीप, ढकना, हात्ती, सरवा लगायतका सामग्रीको विक्री बढेको हो ।
तर, मेचीनगर नगरपालिकाले अघिल्ला वर्ष झै यस वर्ष खोला नाला तलाउ र जलाशयमा गएर अस्थायी मण्डव बनाएर छठ नमनाउन आग्रह गरे लगत्तै नगरमा पहिलाको जस्तो छठको रोनक छैन् । मेचीनगरमा मात्र होइन कोरोनाका कारण झापामै विगत वर्षजस्तो छठको रौनक छैन । यस वर्ष भने कोरोना महामारीका कारण छठस्थलमा विधिमात्र पूरा गर्न प्रशासनले आह्वान गरेको छ । कोरोना फैलन सक्ने भएकाले छठस्थलमा रात नबिताउनसमेत प्रशासनले निर्देशन दिएको छ ।
खोलानाला र जलाशयको सरसफाइको काम समेत शुरु भएको छैन् । छठमा खोला, नदी, पोखरी तथा जलाशयहरुमा गएर सूर्य (छठी माता)को पूजाआराधना गरिन्छ । अरु समय फोहोरले दुर्गन्धित हुने नदीनाला तथा जलाशयहरुमा घाट निर्माण गर्न अहिले भ्याइनभ्याई हुन्थयो अहिले काभिड १९ का कारण त्यो काम भएको छैन् ।
षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवम् छठीमातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङग्रा अंकित गरिन्छ । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ