Thursday, May 6, 2021
- बिज्ञापन -
गृह स्थानीय समाचारआधुनिक साकोसको साधारण सभामा १० जना पुरस्कृत

आधुनिक साकोसको साधारण सभामा १० जना पुरस्कृत

काँकरभिट्टा, १७ पुस । मेचीनगर ६ काँकरभिट्टामा रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था (आबस) को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोरोना प्रभावका कारण संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा प्रतिनिधि मूलक ढंगमा सञ्चालन गरिएको साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए ।

आचार्यले नीति विधि र प्रविधिमा आधारित भएर सदस्यहरुलाई अधिकतम सुविधा प्रदान गर्ने गरीको रणनीति तय गर्न सहकारीलाई आग्रह गरे ।

संस्थाले पुस १२ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानमा केन्द्र तोकेर सदस्यहरुबाट सुझाव संकलन गर्दै सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन अनुमोदन गराएको थियो ।

आजको साधारण सभामा सदस्यहरुको प्रतिधित्व गर्दै विभिन्न समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

सभामा संस्थाका अध्यक्ष अंगतबहादुर थापाले सञ्चालक समितिको तर्फबाट तयार पारीएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिले तयार पारेको आर्थिक प्रतिवेदन लेखा समिति सदस्य केशवप्रसाद कोईरालाले प्रस्तुत गरेका थिए ।

वि.स. २०६८ सालमा स्थापना भएको संस्थाको आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म कुल पुजी १९ करोड ५५ लाख ३५ हजार रहेको लेखा समितिको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.७८ प्रतिशतको वृद्धिदर हासिल गरेको छ ।

कोरोना प्रभावका बीच सहकारीले यो वर्ष २५ लाख ४९ हजार खुद नाफा हात पार्दा हाल १३ करोड ३३ लाख ३६ हजार रकम सदस्यहरुमा कर्जास्वरुप लगानीमा छ ।
संस्थाको कुल शेयर पुजी १ करोड ७४ लाखबढी रहँदा ९ करोड १२ लाख ७६ हजार रकम सदस्यहरुको बचत हिसाबमा छ ।

त्यस्तै सभामा संस्थाका व्यवस्थापक पारस ओलीले आगामी वर्षका लागि तयार पारीएको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

वार्षिक योजना तथा बजेट कार्यक्रम अन्तर्गत सदस्यहरुलाई आय आर्जन क्षमता वृद्धि गर्न सिप तथा सूचना उपलब्ध गराउने, स्रोत साधन तथा जनशक्ति परिचालन गरी वित्तीय अवस्था सुधार गर्ने भनिएको छ ।

सदस्य विस्तार योजना अन्तर्गत वृहत संस्था निर्माणका लागि अधिक सदस्य भन्ने मुल मन्त्रका साथ काम गर्ने भनिएको छ ।

त्यस्तै युवा सदस्यका लागि वित्तिय शिक्षा कार्यक्रम, उद्यमशिलता विकास तालिम एवं विपन्न सदस्य उत्थान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

६ हजार ५ सयबढी शेयर सदस्य रहेको सहकारीमा तीन सम्पर्क कार्यालय र एक प्रधान कार्यालयमा गरी २८ जना कर्मचारी कार्यरत छन् ।

कोरोना कहरका कारण संस्थाले सदस्य सहुलियत योजना अन्तर्गत कर्जाको व्याजमा १० प्रतिशत छुट गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै संस्थाले कोभिड १९ महामारीको समयमा विभिन्न संस्थासंगको समन्वयमा १ लाख बढी सहयोग गरेको जनाइएको छ ।

साधारण सभाको अवसरमा संस्थाले आफ्ना १० जना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

उत्कृष्ट बचतकर्ताको रुपमा रामकुमार सुवेदी, भावना उप्रेती, कृष्णबहादुर खड्का, टंकमाया तामाङ लाई पुरस्कृत गरेको छ ।

त्यस्तै उत्कृष्ट ऋणीतर्फ टिकामाया प्रधान, होमबहादुर अधिकारी, सनम राई र वर्षा तामाङ तथा ज्येष्ठ नागरिकहरु सत्तिलाल धिमाल र अम्विकादेवी कट्टेललाई सम्मानसहित पुरस्कृत गरेको छ ।

सम्मानित हुने सबैलाई नगद रु १ हजार तथा प्रमाण पत्र प्रदान गरिएको संस्थाका सहसचिव भुपाल ओलीले जानकारी दिए ।

संस्थाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष मेदनी खरेल र सञ्चालन सचिव कमल थापाले गरेका थिए ।

सभाको बन्द सत्रमा उठेका विभिन्न सुझाव एवं सवालहरु संकलन गरि निर्णयार्थ प्रस्तुत गरिरएको र बाँकी रहेका बिषयबस्तुलाई कार्यसमितिको बैठकमार्फत हल गर्दै लैजाने निर्णय भएको संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु