भद्रपुर,मङ्सिर १०।झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको दोस्रो खेल दिउँसो २:४५ बजे मेची रङ्शालामा मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिका भिड्दैछ्न्।
पहिलो खेल हल्दीबारी गापा र बुद्दशान्ति दिउँसो १:०० बजे आमनेसामने भएपनि मेचीनगर र भद्रपुरको खेललाई चासोको रुपमा हेरिएको छ।दुवै टोलीलाई रास्ट्रीय अनुभवी पूर्व खेलाडीले प्रशिक्षण दिएका छन् । मेची नगरलाई पूर्व रास्ट्रीय टोलीका डिफेन्फर तथा अण्डर–१९ राष्ट्रिय टिमको सहायक प्रशिक्षक सचिन्द्र धिमाल र भद्रपुरलाई पूर्व रास्ट्रीय टोलीका मिडफिल्डर कर्ण लिम्बूले प्रशिक्षण गरेका हुन् ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।
१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।