रोशनराज
१० असार, मेचीनगर : भारतबाट आउने जंगली हात्तीलाई रबरको गोली प्रयोग गरी आफ्नै बास स्थानतर्फ फर्काउन पाउनुपर्नेलगायतका चार शुत्रीय मागसहित आज झापा मेचीनगरका हात्ती पीडितहरुले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ देखि ४ सम्म (साविक बाहुनडाँगी गाविस) का पीडितहरु विहान जिल्ला प्रशासन कार्यालय चन्द्रगढी झापामा पुगेर प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएका हुन् ।
पूर्वको मेची किनारदेखि कोशी टप्पुसम्मको कोरिडोरको अवधारण अव्यवहारिक र जैविक मानवता विरुद्धभएको ठहर गर्दै स्थानीयबासीले त्यसले पूर्वको बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासीन्दाहरुलाई भविष्यमा जंगली जनवारहरुको आतंकबाट उजाड बनाउने भएकाले उक्त परियोजना तत्काल बन्द गर्नुपर्ने माग ज्ञापन पत्रमा लेखिएको छ ।
यसक्षेत्रका स्थानीयवासी लामो समयदेखि जंगली हात्तीको उपद्रोबाट पीडित बनेको भन्दैं जंगली जनवारबाट मानिसको घर भत्किएर उठिवास लागेको, मानवीय क्षति व्योहोर्नु परिरहेको र वर्षभरि खाने बालीनाली नष्ट पारेको घटना पर्यटनको विषय वन्न नसक्ने भएकाले जंगली हात्तीको आतंकलाई जोडेर यसक्षेत्रमा पर्यटन प्रवद्र्धनका नाममा हुने हरेक गतिविधि तत्काल बन्द गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ ।
मानव वस्तीममा निर्वाधरुपमा भारतबाट आउने जंगली हात्तीको प्रवेश र तत्काल उस्को आतंकलाई विना शर्त रोक्न पनि ज्ञापन पत्रमा भनिएको छ । स्थानीयले मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चित र जंगली हात्तीको आक्रमणबाट आउने सन्तानले ज्यान गुमाउन नपरोस भन्ने कामना गर्दै पूर्व जनप्रतिनिधि सामाजिक क्षेत्रका अगुवासहितको उपस्थित टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललाई ज्ञापन पत्र बुझाएका थिए ।
टोलीमा संलग्न बालक सिम्रिक चौधरी र रणबहादुर अधिकारीले उक्त ज्ञापन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाएका थिए । सोहि क्रममा बालक चौधरीले रातभर विद्युत जान्छ पढ्न दे सरकार हात्ती आउँछ हामी बाँच्न दे सरकारभन्दैं आग्रह समेत गरेका थिए । यसैगरी, बाँच्न दे सरकार भन्दैं हात्ती पीडितहरुले संकलन गरेको हस्ताक्षर बाँच्न दे सरकारका हात्ती पीडित अभियानका संयोजक सन्तोष सुवेदीले प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाए ।
१२ हजारको हस्ताक्षर रहेको चार शुत्रिय मागसहितको ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तत्काल पुग्ने सुवेदीले विश्वास व्यक्त गरेका छन् । समयमै यी माग सम्बोधन गर्न सरकारले आलटाल गरे वा स्थानीयको समस्याप्रति सरकार गम्भीर नबने पीडित नागरिकहरुले चरणबद्धरुपमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । संयोजक सुवेदीले हात्ती पीडितका मागप्रति सरकारले वेवास्ता गरे पूर्व पश्चिम निर्माणधि अवस्थामा रहेको एशियन हाईवेमा आएर सुत्ने र काममा अवरोध गर्ने बताएका छन् । मानिस बाँचेमात्र सडक, सञ्चार, विद्युतलगायत भौतिक संरचनाको काम पर्ने बताउँदै मानिसनै नरहे यी संरचनाको के काम भन्दैं प्रश्न गरे ।
हात्ती पीडितको अनुनयः ‘बाँच्न दे सरकार’

हात्ती पीडितको ज्ञापन पत्र : 'बाँच्न दे सरकार'