१० मंसिर, इलाम : इलाम जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणना रोकिएको छ।
अन्तिम वडाको मत गन्दागन्दै गणना रोकिएको हो। त्यहाँ संविधानसभाका पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ र सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काबीच झिनो मतान्तरमा कडा टक्कर भइरहेको छ।
इलाम नगरपालिकाका-१ को मत मात्र गन्न बाँकी रहँदा दुई नेता १३० मतले अघपिछि रहेको जनाइएको छ। वडा २ को गणनाका क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै कांग्रेसले विरोध जनाएपछि वडा १ काे गणना रोकिएको हो।
गणनास्थलमा कांग्रेस समर्थकले नाराबाजी गरिरहेकाले गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ। मतगणना रोकिएको इलाम १ मा गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो।