नेपाली कांग्रेसले पाँच प्रदेशमा पार्टीको संसदीय दलको नेता चुनेको छ । आफैंले नेतृत्व गरेको चार दलीय गठबन्धन जोगाउन नसक्दा प्रतिपक्षी बेञ्चमा पुगेका सभापति शेरबहादुर देउवाले पार्टीमा भने कब्जा बनाएका छन् । प्रदेश संसदीय दलको नेतामा पनि देउवा पक्षकै वर्चस्व कायम भएको छ ।
पार्टी प्रतिपक्षमा भए पनि संसदीय दलको नेता बन्दा सांसदको अतिरिक्त सेवा सुविधा पाइने भएकाले दलको नेता बन्न नेताहरूबीच लुछाचुँडी चलेको छ ।
सात प्रदेशमध्ये पाँच वटा प्रदेशको संसदीय दलको नेता चयन भइसक्दा सबै प्रदेशमा संस्थापनइतर समूह पाखा लागेको छ । लुम्बिनी र सूदुरपश्चिम प्रदेशमा भने संसदीय दलको नेताको निर्वाचन भइसकेको छैन । केन्द्रमा सभापति देउवाले महामन्त्री गगन थापालाई फराकिलो अन्तरले पराजित गर्दै संसदीय दलको नेता चुनिएका थिए । प्रदेशमा पनि उही श्रृंखला चलेको छ ।
प्रदेश १ मा उद्धव थापा, मधेशमा कृष्णप्रसाद यादव, वाग्मती प्रदेशमा बहादुरसिंह लामा, गण्डकीमा सुरेन्द्र पाण्डे र कर्णाली प्रदेशमा जीवनबहादुर शाही प्रदेश संसदीय दलको नेता बनेका छन् । थापा र यादव हाल पार्टीको प्रदेश सभापति समेत छन् भने लामा, पाण्डे र शाही भने केन्द्रीयस्तरका नेता हुन् ।
प्रदेश १ को संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी थियो । नेता कृष्णप्रसाद सिटौलानिकट रहेर देउवा समूहबाट प्रदेश सभापति बनेका थापाले संसदीय दलमा १८ मत ल्याएर विजयी भए भने कोइराला समूहका केदार कार्कीले ९ मत पाए । देउवाकै अर्का विश्वास पात्र एवम् पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले भने २ मतमात्रै पाए ।
मधेश प्रदेशमा प्रदेश सभापति कृष्णप्रसाद यादव नै प्रदेश संसदीय दलको नेतामा चयन भए । यादवले १८ मत पाए । यहाँ रामसरोज यादवले ४ मत ल्याए ।
वाग्मती प्रदेशमा केन्द्रीय सदस्य बहादुरसिंह लामा संसदीय दलको नेता चुनिएका छन् । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका लामा टिकट नपाएपछि प्रदेशमा झरेका थिए । यहाँ प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता बनेका हुन् ।
लामा र बानियाँ दुवै संस्थापन समूहका नेता हुन् । तर, संस्थापनबाटै दुई जना दाबेदार भएपछि कोइराला समूहले बानियाँलाई सहयोग गरेको थियो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याए ।
गण्डकी प्रदेशमा पनि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे संसदीय दलको नेता निर्वाचित भएका छन् । उनले भोजराज अर्याललाई पराजित गरे । पाण्डेले १८ मत ल्याउँदा अर्यालले ८ मत पाएका थिए । यसअघि राष्ट्रिय सभा सदस्य भइसकेका पाण्डे सभापति देउवाका विश्वासपात्र हुन् ।
कर्णाली प्रदेशमा भने जीवनबहादुर शाही नै सर्वसम्मत दलको नेता चयन भए । यसअघि पनि उनी प्रदेश संसदीय दलको नेता थिए भने उनी हालका मुख्यमन्त्रीसमेत हुन् ।
इकान्तिपुरबाट