काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको हो ।
सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो ।
सगरमाथाको उचाइ मापन परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ । मापन शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।
यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो ।
त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए । सगरमाथाको उचाइ नाप्न तीन वटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ । त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ ।
यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र त्यसै आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो ।