२१ मंसिर, मेचीनगर : तरकारीलगायत अन्य थुप्रै कृषिजन्य वस्तुमा नेपाल आत्मनिर्भर छैन् । प्याज र आलुको आयात कम गर्न र निर्यात बढाउन सरकारले विभिन्न योजना अघि सारेको छ, तर, यी दुवै वस्तुमा नेपाल परनिर्भर बन्नु परेको छ । नेपालीका हरेक भान्सामा चाहिने तरकारीदेखि कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्छ ।
तर, कृषिजन्य वस्तु अदुवामा भने नेपाल आत्मनिर्भर मात्र भएको छैन, पूर्वी काँकरभिट्टानाका भएर चारमहिनामा ३८ करोड रुपैयाँभन्दा बढीको अदुवा, सुठो निर्यात भएको छ । नेपालमा उत्पादित अदुवा गुणस्तरीय भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको पहुँच विस्तार भएको व्यवसायीहरुको भनाई छ । पछिल्ला वर्षहरूमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीको प्रमुख पाँचभित्र परेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । एफएओका अनुसार भारत, नाइजेरिया, चीनपछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने मुलुकमा नेपाल पर्छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकमहिनासम्ममा यो नाका भएर ३८ करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको २९ लाख ५८ हजार ४० किलो अदुवा निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो ।
तर, गत आर्थिक वर्ष २०७९/०८० को सोहि अवधिको तुलनमा चालु चालु आर्थिक वर्ष २०८०÷०८१ मा अदुवा निर्यात १९ दशमलव ३८ प्रतिशतले कमि आएको छ । सूचना अधिकारी कडेलले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९/०८० को साउनदेखि कात्तिकमहिनिासम्म अदुवा सुठो निर्यात गरेर ४७ करोड ३६ लाख ४ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको थियो । त्यस बखत १ करोड ५८ लाख २६ हजार ५ सय ५० केजी अदुवा सुठो निर्यात भएको छ । ९ करोड १७ लाख ७४ हजार रुपैयाँको अदुवा चालु आर्थिक वर्षमा कम निर्यात भएको सरकारी अभिलेख छ ।
कहिले भारतले नेपाली अदुवाको निर्यातमा प्रतिबन्ध लगाउनेलगायत अन्य कारणले पनि अदुवा सुठोको निर्यात ओरालो लागेको यसका जानकारहरु बताउँछन् । भारतको खाद्य विभागले नेपाली अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्दै कुनै समय दुईसातासम्म नेपाली अदुवाको भारत निर्यातमा प्रतिबन्ध लगाएको व्यवसायीहरु स्मरण गर्दछन् । भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन ।
कोशी प्रदेशको जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापाका ३ हजार सात सय ७० हेक्टरभन्दा बढी जमिनमा अदुवा खेती हुने र ती चार जिल्लाको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन पुग्ने सरकारी अधिकारीहरुको भनाई छ । पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, नवलपरासी, डोटी, कैलाली, सुर्खेतलगायत जिल्लामा व्यावसायिक रूपमा अदुवा खेती हुन्छ । सीमावर्ती भारतीय बजार नक्सलबाडी र सिलीगुढीसहितभन्दा अर्को बजारमा अदुवाले पहुँच स्थापना गर्न सकेको थिएन् ।
पहाडी जिल्लामा व्यावसायिकरुपमा उत्पादन हुने अदुवा पछिल्लो भारतका अन्य बजार तथा बंगलादेश निर्यात हुने प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ । नेपालमा हुने उत्पादन मध्ये ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ । क्वारेन्टिन अधिकारीहरुका अनुसार नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य एकरुपता नहुनु तथा नेपालमा हरेक वर्ष अदुवाको उत्पादन घट्नु र भारतले कृषिकालागि आत्मनिर्भर हुने लक्ष्यका साथ दक्षिणी भारतमा व्यवसायिक अदुवा खेती विस्तार गर्दै गएकाले माग घटेका कारण पनि निर्यात घटेको हुन सक्ने सरकारी अधिकारहरु बताउँछन् ।
अदुवा पाखोबारी, भिरालो जमिनमा समेत लगाउन सकिन्छ । अदुवालाई धेरै मेहनत गर्नुनपर्ने, किसानहरूले स्वतःस्फूर्त तरिकाले लगाउँदा पनि उत्पादन राम्रो भएको विभागले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली भएकाले अदुवालाई नगदे बालीको रूपमा पनि लिने कृषिविज्ञ रामानन्द मिश्रको भनाई छ । अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा समेत प्रयोग गर्ने कविराज अजय देवको तर्क छ ।
अदुवा खेतीलाई प्रोत्साहन गर्न उत्पादन, प्रशोधनमा सहयोग गर्ने कार्यक्रम प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गरेका छन् । पालिकालाई ससर्त अनुदानका कार्यक्रम दिएको छ । किसान, कृषक समूह, किसान सहकारीलाई सरकारी निकायले सहयोग गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुनसरी, सुर्खेतलगायत जिल्लामा अदुवा जोन विकास कार्यक्रम रहेको छ ।
