चारमहिनामा ९६ करोडभन्दा बढीको प्लाइउड निर्यात, सरकारी प्रक्रिया झन्झटिलो भएकाले किसानलाई समस्या

२५ मंसिर, मेचीनगर : कुनै समय प्लाइउड भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउने गरिएकोमा पछिल्लो समय नेपालबाट प्लाइउड भारतलगायत अन्य देशमा निकासी गर्न थालिएको छ । यसलाई व्यवसायीहरुले सुखद पक्षका रुपमा लिएका छन् ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि कात्तिकमहिनासम्ममा काँकरभिट्टा नाका भएर ९६ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७९÷०८० को सोहि अवधिको तुलनमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्लाइउड निर्यात १ सय ४ दशमलव ७८ प्रतिशतले बृद्घि भएको छ ।

नेपालका प्लाइउड उद्योगी र व्यवसायीले निर्यातलाई आक्रामक रूपमा बढाएका छन् । काठमा आधारित वस्तुको माग विदेशमा बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यवसायीहरुको भनाई छ । प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहगोग गर्नुपर्ने उनीहरुको माग छ ।

सूचना अधिकारी कडेलले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि कात्तिकमहिनासम्म प्लाइउड निर्यात गरेर ४७ करोड ३६ लाख ४ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको थियो । ४९ करोड ६२ लाख ६४ हजार रुपैयाँको प्लाइउड चालु आर्थिक वर्षमा बढि निर्यात भएको सरकारी अभिलेख छ । प्लाइउड काँकरभिट्टानाकाबाट निर्यात हुने वस्तुको सूचीमा चौथो नम्बरमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेखमा स्पष्ट छ ।

प्लाइउडका लागि आवश्यक कच्चा पदार्थमा आत्मनिर्भर हुँदै गएपछि नेपालबाट तयारी प्लाइउड भारतलगायत अन्य देश पठाउन सकिएको नेपाल भेनियर उत्पादक संघ केन्द्रिय कार्यालय झापाले जनाएको छ । ‘नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ ’ नेपाल भेनियर उत्पादक संघका केन्द्रिय महासचिव दिनेश शाक्यले भन्नुभयो—‘कुनै समय नेपालले प्लाइउड आयात गर्ने अवस्था थियो अहिले प्लाइउड नेपालले निर्यात गर्न थालेको छ । यसलाई सुखद नै मान्नुपर्छ । यदि निर्यात नभएको भए आर्थिक मन्दीका कारण नेपालमा उत्पादित प्लाइउड नेपालमामात्रै खपत हुन सक्दैन् थियो । अनि उद्योग बन्द गर्नुको विकल्प नैे थिएन् । निर्यातले हामीलाई निक्कै राहत मिलेको छ ।’ नेपालमा खपत पर्याप्त भएर प्लाइउड विदेश निर्यात भएको हो ।

केन्द्रिय महासचिव शाक्यका अनुसार झापा जिल्लामा तीनदर्जनजति उद्योग भए पनि १५ देखि २० वटा उद्योगमात्र सञ्चालनमा छन् । नेपालका उद्योगले तयार गरेको प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको बताईएको छ । पछिल्लो समय प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सरकारी अधिकारीहरुको भनाई छ । पूर्वको झापा काँकरभिट्टादेखि, विराटनगर, कृष्णनगर, भैरहवा, मलंगवा, जनकपुर र पश्चिमको नेपालगञ्ज नाकाबाट प्लाइउडको निर्यात भइरहेको बताईएको छ ।

प्लाइउड काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन समेत प्रयोग गरिँदै आएको केन्द्रीय महासचिव शाक्यको भनाई छ । नरम प्रजातिका र छिटो वृद्धि हुने प्रकारका रुखका ‐कुकाठ) बाट प्लाइउड उत्पादन गरिन्छ । कोशी प्रदेशका पहाडी जिल्ला ताप्लेजुङ्ग, पाचथर इलामलगायत पहाडका उत्तिस, मलाँतो र सउर जातका रुख पर्दछन् । त्यस्तै तराईमा मसला, आँप, कदम, लहरे पीपल आदिका नरम रुख पर्दछन् । यिनै रुखका काठबाट प्लाइउड तयार गरीने उहाँको भनाई छ । किसानले बारी र कान्लाभित्तामा लगाएका रुखहरूबाटै प्लाइउड उत्पादनका लागि कच्चा काठ उपलब्ध भएपछि उनीहरुलाई समेत आर्थिक समस्या नभएको महासचिव शाक्यको भनाई छ । ताप्लेजुङ्ग, पाचथर इलामलगायतका पहाडी जिल्लाका न्यून आय भएका किसान पनि आ–आफ्ना बारी, कान्ला, पाखा र भित्तामा भएका नरम प्रजातिका रुखबाट लाभान्वित भइरहेका छन् ।

किसानले अहिले नगदे बालीका रुपमा यी रुख लगाउन थालेका भए पनि सरकारी प्रक्रिया अत्यन्त झन्झटिलो भएका कारण सजिलै विक्री वितरण गर्न पाउदैनन्् । भारतका किसानले सहज तरीकाबाट आफ्ना बारीका काठहरू प्लाइउड उद्योगलाई बिक्री गर्नसक्ने भएपनि नेपाली किसानलाई त्यो सुविधा नभएको महासचिव शाक्यको भनाई छ । सरकारी प्रक्रिया अत्यन्त झन्झटिलो भएका कारण किसानले समस्या व्यहोर्नु परेको छ ।

‘किसानलाई आफ्नै बारीको रुख काटेर बिक्री गर्न पनि सरकारी प्रक्रिया लामो र झन्झटिलो छ ’ महासचिव शाक्यले भन्नुभयो—‘आफ्नै बारीको नरम प्रजातिको रुख काट्न पनि सबैभन्दा पहिले वडा कार्यालयदेखि वन कार्यालयमा निवेदन दिनुपर्छ । भारतका किसानहरू आफ्नो बारीका काठहरू सजिलै काठको मन्डीमा लगेर बिक्री गर्छन् तर नेपालमा भने त्यो सुविधा छैन् यी लगायत थुप्रै कारणले किसानहरू समस्यामा छन् ।’

Exit mobile version