भारत र बंगलादेशसँगको व्यापारमा नेपालले घाटा व्यहोदैं

११ माघ, मेचीनगर : चालु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अवधिमा पूर्वी काँकरभिट्टा नाका भएर हुने बंगलादेशसँगको व्यापारमा नेपालले कूल १८ अर्ब ११ करोड ६१ लाख ३० हजार रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

नेपाल प्रवेशको पहिलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाले सार्वजनिक गरेको तथ्याकंअनुसार गत पुस मसान्तसम्ममा २ अर्ब ११ करोड ५२ लाख १ हजार बराबरको वस्तु आयात हुँदा २९ करोड ९१ लाख २१ हजार बराबरको मात्रै निर्यात भएको छ । गत आवको सोहि अवधिमा १ अर्ब ८४ करोड ३१ लाख ४८ हजार रुपैयाँ व्यापार घाटा नेपालले व्यहोरेको थियो ।

भन्सारका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलका अनुसार यो अवधिमा १२ करोड ३३ लाख ८४ हजार बराबरको निर्यात गर्दा १ अर्ब ९६ करोड ६५ लाख ३२ हजार बराबरको वस्तु आयात गरेको छ । नेपालले भारतलगायतका मुलुकसँगको व्यापार घाटा व्योहोदैं गर्दा बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सेनि नेपालको पक्षमा हुन्थ्यो । पछिल्लो अभिलेखले बंगलादेशसँगको व्यापार पनि निरन्तर ओरालो लाग्दै गएको स्पष्ट हुने मेची भन्सार एजेण्ट संघका सचिव कृष्णकान्त (नवराज) खनियाँ बताउनुहुन्छ ।

बंगलादेशबाट कटन वेस्ट, औषधि, फेब्रिक, जुट, चिनी, दूध पाउडर, सोया, आलुलगायत करिब तीन दर्जन वस्तु आयात हुन्छन । नेपालले मुसुरो, जडीबुटी, अदुवा, तोरीको पिना, तरकारीजन्य वस्तु निर्यात गर्दै आएको छ ।

भुटानका मालवस्तु सरह नेपाली वस्तुलाई पनि ड्युटी छुट गरीदिने हो भने निर्यात व्यापार बढ्ने र नेपालको घाटा व्यापार कम हुने भन्सार अधिकारीको भनाई छ । नेपालको भारत र चीनसँगको प्रत्येक वर्ष खबौंको व्यापार घाटा भइरहेको बेलामा नेपालले बंगलादेशसँगको व्यापार पनि सोही अवस्थामा रहेको यसका जानकारहरु बताउछन् ।

भन्सार अधिकारीका अनुसार भुटानबाट बंगलादेशले आयात गर्ने मालवस्तुलाई जस्तै नेपालबाट निर्यात भएर उता जने मालवस्तुलाई बंगलादेशले ड्युटी छुट दिने हो भने हरिया सागसब्जी फलफूल सुन्तला, किविm ड्राइगन फुड तथा मैसमी तरकारी, चिया, अलैची, टमाटर प्रश्स्त निर्यात हुन्थ्यो । जस्ले गर्दा व्यापारमा बृद्धि हुन्थ्यो । बंगलादेशमा जडीबुटी निकासी बढाउन सके बंगलादेशसँगको व्यापारमा नेपालको पक्ष हुन सक्छ ।

नेपालले व्यापार घाटा भारतसँग समेत व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट १४ अर्ब ४८ करोड ५६ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब ९१ करोड ९३ लाख ४५ हजार बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा १ अर्ब ५६ करोड ६२ लाख ५५ हजार बराबर छ । गत आवको यहि अवधिमा समेत नेपालले भारतसँगको व्यापारमा ३ अर्ब ५३ करोड ५९ लाख ३४ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको थियो ।

मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ । नेपालको पूर्वीनाका काँकरभिट्टा भएर नेपाल र भारतबीच हुने व्यापार हरेक वर्ष भारतको पक्षमा मजवुत छ । निर्यातभन्दा आयात बढी भएका कारण यी दुई देशबीच हुने व्यापार भारतको पक्षमा दर्विलो छ । भारतसँग बढी भर परेको नेपालसँगको आयात निर्यात व्यापार असन्तुलन हुँदा यो घाटा बढिरहेको अर्थविदहरुको भनाई छ ।

काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ ‐डिजल, पेट्रोल, खाना पकाउने एलपी ग्यास,हवाई इन्धन मट्टितेल) तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर,सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

Exit mobile version