मेचीनगर–४ मा लागुऔषध दुर्व्यसन विरुद्ध स्काउटको सचेतना कार्यक्रम सम्पन्न : समाजलाई दुर्व्यसनमुक्त बनाउन सबैको साझा प्रयास अपरिहार्य – वक्ताहरूको जोड

२ जेठ,  मेचीनगर : नेपाल स्काउट प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापन तथा स्थानीय स्काउट कार्यालय मेचीनगरको व्यवस्थापनमा ‘लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम’ मेचीनगर नगरपालिका–४ मा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता स्थानीय शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बाले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष अर्जुन कुमार कार्की रहनुभएको थियो। उहाँले मन्तव्य दिँदै भन्नुभयो, “समाजलाई लागुऔषध दुर्व्यसनमुक्त बनाउन स्थानीय तहदेखि समुदायसम्म सचेतना फैलाउनु अत्यावश्यक छ। यस्ता कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छन्।”

कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधि नुरबहादुर कार्की, पवन बराइली, धनमाया कोइराला, गीता लुङ्गेली मगर, सशस्त्र प्रहरी बल बाहुण्डाँगी बीओपीका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक केशर श्रेष्ठ, बाहुण्डाँगी प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक छविहाङ शेर्मा,
दिपेन्द्र आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ता निरौला, अरुणेदय आवासीय माविका प्रधानाध्यापक तथा स्थानीय परिषद् सदस्य दुर्गा बहादुर लुइटेल, स्काउटर महेन्द्र घिमिरे, पशुपति माविका शिक्षक प्रेमकुमार प्रधान, सौरभ नमुना आधारभूत विद्यालयका शिक्षक युवराज बस्नेत, जनहित टोल विकास संस्थाका अध्यक्ष अनिस काफ्ले, अंशु एकाडेमीका शिक्षक सुभाष बुढाथोकी, विद्या  विकास एकाडेमीका शिक्षक श्याम आचार्य लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक केशर श्रेष्ठले लागुऔषध दुर्व्यसनले युवापुस्तालाई विनाशतर्फ धकेलिरहेकाले सबै सरोकारवाला पक्ष एकताबद्ध भएर यसको रोकथाममा लाग्नुपर्नेमा जोड दिनुभयो।

सहजकर्ता स्काउटर आनन्द समशेर बोहोरा र रोभर स्काउट आयुष भट्टराई रहनुभएको कार्यक्रममा विभिन्न टोलका प्रतिनिधि, अभिभावक, विद्यार्थी, रोभर–रेञ्जर स्काउट सहित ६१ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन सभाध्यक्ष सुष्मा सुब्बाले आभार व्यक्त गर्दै गर्नुभयो। उहाँले भन्नुभयो, “यस अभियानले समाजमा सन्देशमूलक प्रभाव पार्नेछ। दुर्व्यसन नियन्त्रण सामूहिक प्रयासबाट मात्र सम्भव छ।”

Exit mobile version