१५ जेठ, काठमाडौं : सरकारले नेपालको राष्ट्रिय ध्वजावाहक संस्था नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निगमको संरचना परिवर्तन र कार्यक्षमता वृद्धि गर्ने स्पष्ट संकेत दिएका हुन्।
बिहीवार संघीय संसदमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले निगमको क्षमता विकास, सेवा गुणस्तरमा सुधार र आधुनिक व्यवस्थापन प्रणाली लागू गर्नका लागि रणनीतिक साझेदार भित्र्याइने जानकारी दिए।
“नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रूपमा रुपान्तरण गरी यसको दक्षता वृद्धि गर्नेछौं,” मन्त्री पौडेलले बजेट भाषणमा भन्नुभयो, “यसका लागि उपयुक्त रणनीतिक साझेदारको सहभागिता सुनिश्चित गरिनेछ।”
विगत केही वर्षदेखि आन्तरिक व्यवस्थापन, घाटा, र सेवागुणस्तरका कारण आलोचित बनेको निगमको सुधारको बाटो खोज्ने सरकारी प्रयासको रूपमा यो निर्णय आएको हो। निजी क्षेत्रसँग सहकार्य गर्दै निगमलाई प्रतिस्पर्धी बनाउने उद्देश्य राखिएको बुझिएको छ।
यस कदमले निगमको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
