खेलकुद क्षेत्रलाई ऐतिहासिक बजेट: दमकमा अन्तर्राष्ट्रिय रंगशाला, हिमाली क्षेत्रमा स्टेडियम निर्माण

१५ जेठ, काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो बजेट हो जसले देशको खेल पूर्वाधार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने सरकारको दाबी छ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै झापाको दमकमा सबै प्रकारका खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने जानकारी दिए।

हिमाली क्षेत्रमा ‘हाइ अल्टिच्युड’ स्टेडियम
सोलुखुम्बु र मुस्ताङलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा उचाइमा आधारित स्टेडियम (High Altitude Sports Stadium) निर्माण गरिने पनि बजेटमा उल्लेख गरिएको छ। यसले पर्यटन र खेल दुबैलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

क्रिकेट पूर्वाधारको स्तरोन्नति
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (कीर्तिपुर) को स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ

मूलपानी, फाप्ला, सिद्धार्थ र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाहरुको स्तरोन्नतिका लागि ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

राष्ट्रिय खेलकुद
आगामी वर्ष सुर्खेतमा आयोजना गरिने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। यसले देशभरका खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।

Exit mobile version