पूर्वी नाकाबाट मात्र एघार महिनामा २० अर्ब भन्दा बढी व्यापार घाटा

९ असार, मेचीनगर : चालू आर्थिक वर्षको एघार महिना अर्थात साउनदेखि जेठ मसान्तसम्म पूर्वी नाकाबाट हुने व्यापारमा नेपालले २० अर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को जेठ मसान्तसम्ममा २० अर्ब ४४ करोड १५ लाख व्यापार घाटा पुगेको हो ।

गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा थोरै घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा १८ अर्ब ५३ करोड ८२ लाख ७२ हजार रुपैयाँ व्यापार घाटा थियो ।

चालू आवको जेठ मसान्तसम्मको अवधिमा ४३ अर्ब ७२ करोड ५० लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । कार्यालयका अनुसार यस अवधिमा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । कार्यालयका सूचना अधिकार ईश्वरकुमार हुमागाईंका अनुसार कार्यालयले आयातबाट चालु आवको एघार महिनामा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ भने, गत आवको सोहि अवधिमा १२ अर्ब ७९ करोड ३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

निर्यातबाट भने चालु आवको एघार महिनामा २३ करोड ७५ लाख १९ हजार र गत आवको सोहि अवधिमा १४ करोड १३ लाख४१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको सरकारी अभिलेख छ । चालु आवको यो अवधिमा कार्यालयले आयात तथा निर्यातबाट १४ अर्ब ४३ करोड ९२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको यो अवधिमा १२ अर्ब ९३ करोड १७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षको एघार महिनामा ४० अर्ब ७७ करोड ६४ लाख ४८ हजार रुपैयाँका सामान आयात हुँदा २२ अर्ब २३ करोड ३७ लाख ६ हजार रुपैयाँका नेपाली वस्तु निर्यात भएको कार्यालयले जनाएको छ । त्यस अवधिमा निर्यातबाट मात्र १४ करोड १३ लाख ४१ हजार र आयातबाट १२ अर्ब ७९ करोड ३ लाख ९८ हजार गरी कुल १२ अर्ब ९३ करोड १७ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

पूर्वी काँकरभिट्टा नाका भएर नेपालले आयात गर्ने मुलुकमा भारत, चीन, बंगलादेश, भुटान, मलेशिया, अष्ट्रेलिया, ताञ्जिनियाँ, थाइल्याण्ड, इण्डोनेशिया यूएसएलगायत रहेका छन् । त्यसैगरी, नेपालले भारत, युएस, अमेरिका, बंगलादेश, रसिया, भुटान, जर्मनी, श्रीलंका, क्यानडा, इराक र इटालीलगायतका मुलुकमा नेपाली उत्पादन निर्यात गर्दछ ।

पूर्वीनाकाबाट नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा निक्कै व्यापार घाटा व्यहोरेको बताइएको छ । पेट्रोलियम पदार्थ जुट तथा जुटका उत्पादनहरु, तरकारी, खनिज उत्पादन, दलहन, मेसिनरी तथा पार्टपूर्जा, यातायातका साधनका तिनका पार्टपूर्जा, फलफूल, प्लाष्टिकका कच्चा पदार्थ, फलाम तथा फलामका सामाग्रीहरु यो नाका भएर आयात हुने गरेका छन् ।
नेपालमा उत्पादन भएका अलैंची , फलामे पाता, चिया, प्लाइउड, कुकुर वा विरालो खाना,अम्रिसो, भेनियर सीट, मोलासिस,सिमेन्ट क्लिङ्गकर अदुवा सुठो निर्यात हुने गरेको छ । चालु आवको एघार महिनामा (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) लगायतका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १६ अर्ब १९ करोड १५ लाख १८ हजार रुपैयाँ मुल्य खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य १० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ६० दशमलव ५५ प्रतिशत रहेको छ । २ अर्ब ५४ करोड १ लाख ६ हजार रुपैयाँ मुल्य बराबरको तरकारी आयात भएको छ ।

Exit mobile version