१३ साउन, मेचीनगर : आज देशभर नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी घरको मूलढोकामा टाँसी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नाग, सर्प लगायत जीवबाट र चट्याङ, आगो र मेघबाट सुरक्षा मिल्ने धार्मिक विश्वास रहिआएको छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार वैदिककालदेखि सुरु भएको यो पूजामा नागलाई जलका देवता, विष्णु, शिव, गणेश, बलराम, लक्ष्मणलगायतको प्रतीक मानी पूजा गरिन्छ।
एक प्रसिद्ध किंवदन्ती अनुसार किसानका नागशावक मारिएपछि रिसाएको नाग परिवारलाई मार्छ तर पूजा, दूध र भक्ति देखाएपछि जीवनदान दिन्छ। यही दिन नागले माफ गरेको मानिँदा नागपूजाको परम्परा बसेको जनविश्वास छ।
आजको दिन अनन्त, वासुकी, तक्षक, पद्म, महापद्म, कुलीर, कर्कट र शङ्ख गरी आठ कूल नागको पूजा गरिन्छ। नागको तस्बिर घरको मूलढोकामा टाँसिन्छ र खेतबारी जोत्न, सर्प मार्न निषेध गरिन्छ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत स्थानमा विशेष पूजा आराधना हुँदैछ। गाईको दूध, दुबो, अक्षता, रोटीलगायत प्रसाद चढाइन्छ।
वैज्ञानिक रूपमा सर्पले विषालु तत्व शोषण गरी वातावरण सन्तुलनमा भूमिका खेल्ने पुष्टि भएपछि ऋषिमुनिले नाग पूजाको परम्परा सुरु गरेको विश्वास गरिएको छ। नागपञ्चमीसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडपर्वहरू सुरु हुने मान्यता छ।
