२३ भदौ, काठमाडौं :सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाभन्दा बढीको ज्यान गएपछि विभिन्न शैक्षिक संघ–संस्थाले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन्।
एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सनका अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाहरू दुई दिन बन्द रहने जानकारी दिएका छन्।
त्यसैगरी, काठमाडौं र ललितपुर महानगरपालिकासहित सम्बन्धित जिल्लाका स्थानीय तहहरूले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
शैक्षिक संघसंस्थाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
