काठमाडौँ : ‘जेन-जी’ आन्दोलनका क्रममा भएको हिंसामा परी देशभरका अस्पतालहरूमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार, देशभरका ४१ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस आन्दोलनमा परी कुल १ हजार ३ सय ६८ जना घाइते भएका थिए, जसमध्ये ९४९ जना उपचारपछि घर फर्किसकेका छन्। हाल पनि विभिन्न अस्पतालमा ३२१ जना घाइतेको उपचार भइरहेको छ।
कुन अस्पतालमा कति मृत्यु?
मन्त्रालयले दिएको जानकारीअनुसार, ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा छन्। यहाँ ८ जनाको मृत्यु भएको छ।
- निजामती कर्मचारी अस्पताल: ६ जना
- राष्ट्रिय ट्रमा सेन्टर: ८ जना
- एभरेष्ट अस्पताल: ३ जना
- काठमाडौं मेडिकल कलेज सिनामङ्गल: २ जना
- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल: १ जना
- बयोधा अस्पताल: २ जना
- फ्रन्टलाइन अस्पताल: ३ जना
- बी एन्ड सी अस्पताल विर्तामोड: १ जना
- विर्तासिटी अस्पताल: १ जना
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान: २ जना
- भेरी अस्पताल: ५ जना
यीबाहेक निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन्।