‘जेन-जी’ आन्दोलनको रापमा सरकार गठन भएपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको घोषणा गरेका छन्। शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको हो। यससँगै राष्ट्रपतिले आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति पनि तोकेका छन्।
भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएको थियो। प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याएका थिए। त्यसपछि राष्ट्रपति पौडेलले ‘जेन-जी’ का प्रतिनिधिसँगको वार्ताबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रधानमन्त्री कार्कीले शपथ लिएको केही घण्टामै नयाँ निर्वाचनका लागि सिफारिस गरेपछि राष्ट्रपतिले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय लिएका हुन्। यस कदमले मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्दै छोटो समयमै निर्वाचनको सुनिश्चितता गरेको छ।
