झापामा सात लाख बढी मतदाता पुग्ने अनुमान , नयाँ मतदाता नामावलीमा युवा पुस्ताको आर्कषण

 आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय झापा पूर्वतयारीमा जुटेको छ । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्य तालिका समेत स्वीकृत गरीसकेको छ ।

२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट निर्वाचन कार्य तालिका स्वीकृत भएको हो ।

‘जेनेरेशन जेड’ जेन जी पुस्ताको आन्दोलनपछि गठन भएको नयाँ सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्न सक्ने हो कि होइन भन्नेबारे आमचासो बढिरहेका बखत अहिले जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनका कामलाई तीब्ररुपमा अघि बढाएको हो ।

भदौ २३ र २४ मा ‘जेनेरेशन जेड’ जेन जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित गरेको आन्दोलन पश्चात छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्दै मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेका थिए ।

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तय भएपछि कार्यालय निर्वाचनको पूर्वतयारीमा जुटेको कार्यालय प्रमुख तुलसीप्रसाद नेपालले बताए । कार्यालयले असोज १३ गतेबाट नयाँ मतदाताहरुहरुको मतदाता नामावलीमा नाम दर्ता गर्ने काम धमाधम गरीरहेको कार्यालय प्रमुख नेपालले बताए ।

औसतमा दैनिक तीनसयको हाराहारीमा मतदाता नामावली दर्ताको काम हुने गरेको छ । ‘ निर्वाचन कार्यालयले निर्वाचन आयोगले तोके बमोजिम मतदाता नामावलीमा नाम दर्ता गर्ने काम भईरहेको छ’ कार्यालय प्रमुख नेपालले भने, ‘त्यसपछि निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरुको लेखाजेखा गर्ने काम समेत भईरहेको छ । शुरुका दिन दैनिक दुईसयको हाराहारीमा मतदाताहरु आएर नाम दर्ता गर्ने गरेको भए पनि पछिल्लो समय त्यो संख्या बढेको नेपालले सुनाए । ‘अहिले औसतमा दैनिक तीनसयका दरले जिल्ला निर्वाचन कार्यालय झापामा नाम दर्ता भईरहेको छ । ’उनले भने । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको काम गर्ने जनाएको छ ।

यसरी नै नाम दर्ता गर्न मतदाताहरु स्वतःस्फूत रुपमा सहभागी भए झापाको कुल मतदाता संख्या झण्डै सात लाख बढी पुग्ने अनुमान गर्न सकिने उनको भनाई छ । कार्यालयको अभिलेख अनुसार २०८१ साल चैत मसान्तसम्म झापाको मतदाता संख्या तीन लाख ३८ हजार आठ सय ६२ महिला, तीन लाख ३८ हजार सात सय सात पुरुष र आठ अन्य गरी कुल छ लाख ७७ हजार पाँच सय ७७ जना रहेको छ ।

पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गर्नेमा युवापुस्ताको निक्कै आर्कषण छ । अहिलेसम्म दर्ता भएका नाममा करीब ९० प्रतिशत युवा पुस्ताका रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए । सरकारी विदा बाहेक विहान आठदेखि बेलुका छ बजेसम्म कार्यालयमा नाम दर्ता गर्नेको निक्कै ठूलो भीड लाग्ने कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले बताए ।

निर्वाचन आयोगले २०८२ साल कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाईनबाट फारम भरेर जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने जनाएको छ । ‘निर्वाचन आयोगले प्रविधिको प्रयोग गरेर नै नयाँ मतदाता नामावाली दर्ता गर्ने, एक ठाउँबाट अर्काे ठाउ ँबसाई सरेर लैजाने र त्रूटिसम्म सच्चयाउँने कामहरु अनलाईनमार्फत काम गरीरहेका छौ ’कार्यालय प्रमुख नेपालले भने, ‘ जस्का लागि नयाँ मतदातालाई पनि निर्वाचन आयोगको वेवसाइडमा गएर अनलाईन मतदाता फर्म, नयाँ मतदाता फारम भर्ने भएदेखि नयाँ मतदाता फारम भरेर जिल्ला निर्वाचन कार्यालय झापामा फोटो खिचाउन र बायोमेट्रिक दिन आउँदा मात्र हुन्छ ।

जस्का लागि अत्यन्तै छोटो समय बढीमा दुई मिनेटमा नयाँ मतदाताको काम सकिन्छ । ’ दैनिक तीन सयको दर्ता गर्दासम्म त्यति ठूलो भीड नदेखिने, व्यवस्थितरुपमा काम भईरहेको उनको भनाई छ । कार्यालयले आइतबारदेखि मतदान स्थल पुनः अवलोकन गर्ने कामलाई निरन्तरता दिने बताइएको छ । कस्ताकस्ता पूर्वतयारी आवश्यक पर्छ भन्नेमा समेत कार्यालय लागेको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्य तालिका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ता, यस्तै पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने कार्य तालिका रहेको छ ।

यस्तै फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहने कार्य तालिका तय गरिएको छ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्द सूची पेस गर्ने कार्यक्रम आयोगले तय गरेको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले यस अघि नै सूचना दिएको छ ।

Exit mobile version