१५ कात्तिक, मेचीनगर : संविधानको संरक्षण तथा संसद पुनःस्थापना लगायतका माग गर्दै शनिबार झापाको दमकमा वृहद मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) का २३ जनवर्गीय संगठनहरुको सहभागितामा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) दमक नगर कमिटीले मोटरसाइकल रयाली आयोजना गरेको हो । दमक— ५ स्थित गोर्खा डिपाटमेन्ट स्टोरवाट शुरु भएको मोटरसाइकल रयाली दमक —८ को सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, दमक —२ को आम्दा रोडवाट मदन डाँगी सडक, फागुनन्द चोकहँदै दमकको गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशील राईले कैदी बन्दी फरार रहेको ,देशमा शान्ति सुरक्षा नभएको, लुटिएका हात हतियारहरु फिर्ता नभएको अवस्था र चुनाव हुने वातावरण भएका कारण एमालेले संसद पुनः स्थापनाको माग उठाएको स्पष्ट पारे ।
अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनाववाट कदाबी नभाग्ने उनले स्पष्ट पारे ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछिको काम गतल वाटोमा गएको, मुलुक नै खतराको भुमरीमा परेको हुँदा संसद पुनः स्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउने संक्ने भनेर साँकेतिकरुपमा मोटरसाइकल रयालीको आयोजना गरेको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताए । 
पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल रयालीमा युवा, महिला, सर्वसाधारण, पार्टी कार्यकर्ता र नेताहरुको सहभागिता रहेको थियो ।