Wednesday, April 14, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारमाओवादी र जसपाका कारण नयाँ सरकार गठन प्रक्रिया शुरु हुन सकेन :...

माओवादी र जसपाका कारण नयाँ सरकार गठन प्रक्रिया शुरु हुन सकेन : प्रवक्ता शर्मा

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका कारण नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको बताएका छन् ।

बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा पत्रकारलाई प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएकाले नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको बताए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा वा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने शर्माको भनाइ छ ।

‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालय मार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो,’ उनले भने, ‘त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत रुपमा यसको निर्णयमा पुग्नेछौं ।’

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु

error: Alert: Content is protected !!