१७ पौंष, मेचीनगर : प्रेस क्लब मेचीनगरको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगर ९ स्थित मागुरमाडी सामुदायिक वन बिट नं १ को सिमसार क्षेत्रमा शनिबार भब्य कार्यक्रमका बीच साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं १ अध्यक्ष लिलाबल्लव घिमिरेले समुद्घाटन गरे । सभामा बोल्दै प्रमुख अतिथि घिमिरेले पत्रकारहरुले अब प्रविधिमैत्री बन्दै समयानुकुल बन्न सक्नु पर्ने धारणा राखे ।

पत्रकार बनेर दाम र नाम दुबै प्राप्त नहुने भन्दै घिमिरेले नाम, प्रतिष्ठा र सामाजिक उत्तरदायित्व प्राप्त गर्ने किसिमको पत्रकारितामा लाग्न सुझाव दिए । पछिल्लो समय पत्रकारले समाचार भन्दापनि समाचारले पत्रकार खोज्दै आउन थालेको बताउँदै उनले भने, –‘प्रहरीले जिमेलमा पठाएको समाचार अपडेट गरेर मात्र नबसौं, सामाचारका विषयवस्तु र जनजीवनसँग जोडिएको विषयमा कलम चलाउँ ।’

सभामा विशिष्ठ अतिथि महासंघ झापा अध्यक्ष एकराज गिरीले पत्रकारिताको मूल्य, मान्यता र संस्कृति बमोजिम चल्नु पर्ने धारणा राखे । ‘हामीले पत्रकारिता गर्ने या भजनकारिता गर्ने ?’ भन्ने प्रश्न गर्दै अध्यक्ष गिरीले पत्रकारहरुलाई हरेक क्षेत्रमा अध्ययनशील बन्न आग्रह गरे ।
उनले झ्याल र ढोकाबाट पत्रकारहरुलाई महासंघको सदस्यता वितरण गर्ने नीतिको अन्त्य हुने बताउँदै महासंघको सदस्यता प्राप्त गर्न तीन वर्ष कुर्नु पर्ने अवस्थालाई परिमार्जन गर्दै अब हरेक वर्ष महासंघको सदस्यता वितरण गरिने जानकारी दिए । उनले पत्रकारहरुलाई कुनै विषयमा अध्ययन गर्न किताबको आवश्यकता परेमा महासंघले निशुःल्करुपमा किताब उपलब्ध गराउने बताए ।

अर्का अतिथि प्रेस सेन्टर झापा संयोजक झुलन रेग्मीले पत्रकारिता क्षेत्रमा निषेधको राजनीति हावी हुने क्रम अझै नरोकिएकोे बताउँदै त्यस्ता चुनौतीहरुलाई सामना गर्दै क्लबलाई आगामी दिनमा समेत सबैको साझा र सबैले अपनत्व हुने किसिमको निर्माण गर्दै लानु पर्ने सुझाव दिए ।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पर्वत पोर्तेलले वनभोजसहितको साधारण सभा आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पत्रकारहरुको लेखन सिप विकास गराउन तालिम तथा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
सो अवसरमा सभाका प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतका क्लबका पदाधिकारीहरुलाई मागुरमाडी सामुदायिक वन कार्यसमितिको तर्फबाट सम्मानसमेत गरिएको थियो । आफ्नो स्थानीय क्षेत्रमा कार्यक्रम आयोजना गरेकोमा सामुदायिक वन अध्यक्ष अमरबहादुर लिम्बूले आभार प्रकट गर्दै पर्यटकीय संभावना बोकेका स्थानीय क्षेत्रको प्रचारप्रसार गरी दिन पत्रकारहरुलाई आग्रह गरे ।

सभामा क्लबका सचिव जीआर धितालले सांगठनिक तथा क्लबकी कोषाध्यक्ष रीता दाहालले आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाको बन्द शत्रले भवन निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिको संयोजकमा पत्रकार पर्वत पोर्तेल, सदस्यहरुमा पत्रकार झुलन रेग्मी तथा प्रबिन अधिकारीलाई चयन गरेको छ । समितिलाई पूर्णता दिन क्लबको कार्यसमितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
त्यस्तै बन्दशत्रमा मेचीनगरमा रहेका पत्रकारहरुको पेशागत क्षमता विकासका लागि ‘समाचार लेखन तथा रिर्पोटिङ्ग’ विषयक तालिम तथा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गर्ने निर्णयसमेत भएको छ । बन्दशत्रको माइन्युट लेखन समितिमा पत्रकार किशोर उपरकोटी तथा प्रबिन अधिकारी रहेका थिए । बन्दशत्रको सभापतित्व क्लबका अध्यक्ष उप्रेतीले गरेका थिए । बन्दशत्रमा क्लबका पदाधिकारीसहित साधारण सदस्यहरु सहभागी थिए ।

साधारण सभामा मेचीनगरका ५० बढी सञ्चारकर्मीको सहभागीता रहेको थियो । सभाको सञ्चालन सचिव धितालले गरेका थिए ।




































