१२ वैशाख, मेचीनगर: आगामी वैशाख २० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि सोमबार झापा मेचीनगरका क्रियाशील राजनीतिकदलहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।
मेचीनगर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेले नगरप्रमुख पदमा गोपालचन्द्र बुडाथोकी र उपप्रमुख पदमा मीना पोखरेल उप्रेतीको उम्मेद्वारी मनोनयन गरेको हो । पार्टीले ७७ वटै पदमा उम्मेद्वारी दिइएको छ । एमालेले नगरका १५ वटै वडाका वडाअध्यक्ष वडासदस्यको उम्मेद्वारी मनोनय गरेको नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।
इटाभट्टाचोकबाट पञ्चेबाजा र नाराबाजी गर्दै निक्कै ठुलो दलबलसहित पुगेको एमालेकातर्फबाट नगरप्रमुख पदमा उम्मेद्वारी दर्ता गराएपछि नगरप्रमुख पदका उम्मेद्वारले प्रतिक्रिया दिदैं भन्नुभयो ‘मेरो उम्मेद्वारी नेपाली जनताको प्यारो पार्टी नेकपा एमालेलाई विजयी गराउनका निम्ती हो । नगरका नगरवासी एमालका तमान नेता कार्यकर्ताहरुले तपाई मेचीनगर नगरपालिकाको प्रमुखमा उम्मेद्वार बन्नुपर्छ भन्ने हार्दिक आग्रह पश्चात म नेकपा एमालेकोतर्फबाट उम्मेद्वार बनेको हुँ । मेचीनगर नगरपालिकामा सुशासनका कायम गर्न, नेपाली जनताले प्राप्त गर्ने सामान्य कुरा प्रयोग गर्न पाएका छैनन् । जनताका नैसर्गिक अधिकारभित्र रहेका अधिकार दिन मेरो उम्मेद्वारी हो । ’
यसअघिकाअधुरा योजनालाई पुरा गर्नका लागि आफुले पुनः नगरउपप्रमुखमा उम्मेद्वारी दिईएको उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेतीको भनाई छ ।
नेपाली काँग्रेससहित ५ दलीय गठबन्धनलेसमेत निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन् । तर, ती दललहरुले आ आफ्नै ढंगले अलग अलग उम्मेद्वारी दर्ता गराएका थिए । नेपाली कांग्रेस मेचीनगरमा दुईजना व्यक्तिलाई मेयर पदका लागि उम्मेद्वार घोषणा गरिएको छ ।
पार्टीको प्रदेश समितिले नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष केशवराज पाण्डेलाई उम्मेद्वार घोषणा गरे लगत्तै केन्द्रीय पार्टी कार्यालयबाट इन्द्रबहादुर बुढाथोकीलाई उम्मेद्वार बनाउने पत्र आएको छ ।
पत्रमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ । निर्वाचन कार्यालय मेचीनगरलाई लेखिएको पत्रमा मेचीनगर नगरपालिकाको प्रथम पदमा इन्द्रबहादुर बुढाथोकीलाई नेपाली कांग्रेसको तर्फबाट पार्टीको आधिकारिक उम्मेद्वार भएको व्यहोरा प्रमाणित गरिएको जनाएको छ ।
नेपाली काँग्रेसको प्रदेश कमिटीले नगरप्रमुख पदमा जिल्ला उपसभापति केशवराज पाण्डेको नाम सिफरीस गरेको भएपनि केन्द्रले क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीलाई पार्टीको आधिकारीक उम्मेद्वार बनाएपछि केहीबेर समस्या भएपनि नगरप्रमुखमा इन्द्रबहादुर बुढाथाकीले उम्मेद्वारी दर्ता गराउनुभएको छ । प्रदेश कमिटीले आफ्नो नाम नगरप्रमुखमा सिफारीस गरेपनि केन्द्रले अन्य उम्मेद्वार तोकेपछि आफुले मनोनयन नगरेको पाण्डेको भनाई छ ।
यसैगरी गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले उपप्रमुख पदमा मनोनयन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट नगरप्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यसैगरी गठबन्धनबाट बाहिरेको नेकपा एकीकृत समाजवादीले नगरप्रमुख पदमा शंकर थापा र उपप्रमुख पदमा शारदा शर्माको उम्मेद्वारी छ । मेचीनगरमा केही पदमा स्वतन्त्र उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले बैशाख ११ र १२ गते उम्मेद्वारी मनोनयनको समय तोकेको छ । आइतबार पहिलो दिन आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका थिए ।
निर्वाचन अधिकृत वेदराज फुयाँलले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा २३ जना, महिला सदस्यमा १० जना, दलित महिला ४ जना, वडा सदस्य २२ जनाले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएको बताउनुभयो ।
संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट १ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने स्वतन्त्रबाट ३ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएको फूयाँलले बताउनुभयो ।