२७ माघ, इटहरी : लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलाई शुक्रबार नागरिक अभिनन्दन गरिएको छ । ७७ वर्षको जन्मदिनको अवसरमा उनकै कदको उचाइ बराबरको ताम्रपत्रसहित अभिनन्दन गरिएको हो ।
इटहरी–४ स्थित उनको घरबाट रथयात्रा सुरु गरी जनता स्कुलको खेल मैदानमा भव्य कार्यक्रमका बिच अभिन्न्दन गरिएको अभिनन्दन मुल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।
सो अवसरमा अभिनन्दन ग्रन्थ पनि सार्वजनिक गरिएको छ । ५ सय ७२ पृष्ठको सो अभिनन्दन ग्रन्थमा एक सय २७ लेखकका लेखसहित विविध सामग्री संलग्न गरिएका छन् ।
अभिनन्दन कार्यक्रमको लागि इटहरीका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत नेपाल तथा भारतबाटसमेत साहित्यकार, शिक्षासेवीहरुको सहभागिता रहेको थियो ।
अभिनन्दन पत्रमा छन्द कविता समावेश गरिएको थियो । प्रल्हाद पहरेदारलगायत तीन जनाको समुहले उक्त पत्र तयार पारेको थियो ।
कार्यक्रमको सञ्चालन सागर भट्टराईले गरेका थिए।