२७ फागुन, काँकरभिट्टा : पहिचान सहितको प्रदेशको नामाकरणको माग गर्दै आज कोशी प्रदेशमा आम हडताल गरिएको छ । कोशी प्रदेशको नामाकरणसँग असन्तुष्ट पहिचानवादीहरूले आज आम हड्ताल गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।
बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा सवारीसाधन देखिएका छैनन् ।
प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।
पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।
धरान, इटहरी, दमक, विर्तामोड र काँकरभिट्टामा आन्दोलनकारी झण्डा र समूहसहित सडकमा उत्रिएका छन् । हड्तालका कारण पूर्वका शैक्षिक संस्थाहरु समेत ठप्प भएका छन् ।