विराटनगर । दुई सदस्यका लागि भएको निर्वाचन कोशी प्रदेशमा बिहान ९ बजेबाट मतदान जारी छ ।
सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ । थोरै मात्र मतभार भएकाले केही मत क्रस गराएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा एमाले–राप्रपा गठबन्धन छ । सत्ता गठबन्धन मत क्रस हुन नदिने प्रयासमा छ ।
यसैबीच राष्ट्रिय सभा सदस्यका लागि मतदान गर्न जान लागेका मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी गठबन्धनका मतदाता हुन् ।
उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । उनी मतदान गर्न आउने अवस्था छैन ।
कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार छन् । एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार छन् ।
अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ ।