२४ फागुन, मेचीनगर : ८ मार्च वा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विहबिार झापाको मेचीनगरमा दुईजना ज्येष्ठ महिला सदस्यलाई सम्मान गरिएको छ । मेचीनगर —६ काँकरभिट्टामा रहेको पूर्वीद्वार महिला समूहले सावित्रा थापा र चन्द्रमाया पनेरुलाई सम्मान गरेको सचिव उर्मिला दुलाल उप्रेतीले जानकारी दिनुभयो ।
महिलाहरुलाई विभिन्न प्रकारका सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घेश्यले आयोजना गरेको तीन दिवसीय नेपाली कागजबाट अगरबत्ती बनाउने तालिमको समापनका अवसरमा उहाँहरुलाई सम्मान गरिएको सचिव उप्रेतीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङले दुवैजनालाई सम्मान गर्नुभएको थियो । समापन समारोहमा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष तामाङले ग्रामीण क्षेत्रका महिलाहरु घरायसी कामबाट बचेको समयको सदुपयोग गदै अगरबत्ती बनाउने तालिम सकेपछि उत्पादन गरेर आर्थिक रुपमा आत्मनिर्भर बन्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
वडानम्बर — ६ को आर्थिक सहयोगमा सम्पन्न तालिममा १५ जनाभन्दा बढी महिला सहभागी थिए । नगर क्षेत्रमा महिलाहरुलाई रोजगारी तिर उन्मुख बनाउन मेचीनगर नगरपालिका लाग्नु पर्ने वडा अध्यक्ष तामाङको भनाई छ । सीप नभएर हात खाली बस्ने महिलाहरुलाई लघु उद्यम तर्फ आकर्षित गर्न नगर क्षेत्रमा आगामी दिनहरुमा यस्ता बिभिन्न कार्यक्रम गर्दै जाने वडाध्यक्ष तामाङले बिश्वास दिलाउनु भयो ।
मेचीनगर नगरपालिका क्षेत्रमा रहेका महिला तथा किशोरीहरुलाई आय आर्जन गर्न सहज गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको आयोजक संस्थाकी सचिव उप्रेतीले जानकारी दिनुभयो । आर्थिकरुपमा कमजोर भएका महिला तथा किशोरीहरुका लागि आय आर्जन गर्ने सिपको बिकास गर्दै घरमै बसेर आय आर्जन गरेर स्वाबलम्बी बनाउनको निमित्त तीनदिने अगरबत्ती तालिम निकै फलदायी भएको आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाकी अध्यक्ष सविता मिश्रको सभापतित्वमा भएको समापन समारोहमा वडानम्बर ६ का वडा सदस्य ध्रुव राई, सीमा रसाईलीलगायतले बोल्नुभएको थियो । सचिव उर्मिला दुलाल उप्रेतीले सञ्चालन र सदस्य अम्बिका पनेरुले स्वागत गर्नुभएको समापन समारोहमा आर्थिक उपार्जन गरि महिलाहरुलाई सवल बनाउनका यस्ता कार्यक्रम नगरपालिका कार्यालयले समेत गर्दै जानु पर्ने तालिमका प्रशिक्षक निर्मला चौहानले बताउनुभयो । प्रशिक्षार्थी रिना खड्काले तीनदिनसम्मको सिकाई अनुभव आदानप्रदान गदैं यस्ता तालिक सञ्चालन गर्न आग्रह गर्नुभयो ।




































