६ साउन, मेचीनगर : कोशी प्रदेश सरकारका खानेपानी , सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले संघीय सरकार फेरबदल भए त्यसको असर प्रत्येक प्रदेशमा समेत पर्ने बताउनुभएको छ । शनिबार झापाको एउटा टेलिभिजनलाई अन्तरवार्ता दिदैँ मन्त्री कार्कीले संघीय सरकारभित्र भूःकम्प गए त्यसको परकम्पन प्रदेश सरकारमा जानुलाई नौलो मान्न नहुने बताउँदैं यो सँगै प्रदेश सरकारसमेत फेरबदल हुने स्पष्ट पार्नुभयो । ‘संघमा सत्ता परिवर्तन हुँदा तल (प्रदेशमा) त्यसको असर पर्छ’ मन्त्री कार्कीले भन्नुभयो—‘संघमा सत्ता–समीकरण फेरिएर प्रदेशमा पनि फेरिन्छ ।’
उहाँले सन् २०३० सम्ममा शुद्ध र सफा अनि स्वच्छ खानेपानी सवैक्षेत्रमा पुर्याउने लक्ष्य भएकाले यो लक्ष्य पुरा गर्न संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले सवै सरकारहरु आ आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेश सरकारको पहिलो प्राथमिकतामा शुद्ध र स्वच्छ खानेपानी परेको भन्दैं मन्त्री कार्कीले हरेक जनतालाई यो सुविधाबाट बञ्चित नगराउन खानेपानीमा बजेट विनियोजन भईसकेको समेत स्पष्ट पार्नुभयो ।
नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुने छ भनि नैसर्गिक अधिकारको रुपमा उल्लेख गरे पनि अहिले सवैले यो अधिकार उपभोग गर्न नपाएको मन्त्री कार्कीको भनाई थियो । अहिले पानीको तह घट्दै गएको र अबको लडाई विद्युत वा अन्य क्षेत्रमा नभएर पानीमा हुने र सतह बचाउने क्षेत्रमा काम गर्नुपर्ने भएकाले यसतर्फ कोशी प्रदेश सरकारको ध्यान पुगेको समेत बताउनुभयो । सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक ठाउँमा एटिएम वाटर सप्लाई ल्याउने योजना, अव्यस्थित र अस्तव्यस्तरुपमा रहेका खानेपानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारले खानेपानी ऐन ल्याउन लागेकोलगायत बताउनुभयो ।
भोकमरीजस्तै ‘पानीमरी’को समस्या र खानेपानीको आवश्यकतालाई ‘राइट टु वाटर’का रूपमा सशक्त ढंगले स्थापित गर्न सक्नुपर्ने त्यसका लागि कोशी प्रदेश सरकारसँग निक्कै योजनाहरु रहेका र कार्यान्वयन समेत हुने उहाँले विश्वास दिलाउनुभयो । पिउने पानीको कमी एउटा समस्या हो भने उपलब्ध पिउने पानी प्रदूषित हुनु अर्को समस्या रहेको भन्दैं मन्त्री कार्कीले प्रदेशका जनतालाई अगामी सुक्खायाममा काकाकुलको अवस्था आउन नदिनेतर्फ कोशी प्रदेश सरकार बेलैदेखि गृहकार्यमा जुटेको स्पष्ट पार्नुभयो । पिउने पानीको उपलब्धता मात्र होइन, यो शुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा पनि अब क्षेत्र जोडीनु पर्ने उहाँको विचार व्यक्त गर्नुभयो । खानेपानीको समस्या भोगिरहेका जनताहरु ज्ञापनपत्र, समस्या लिएर दैनिकजसो मन्त्रालयमा आउने गरेको र खानेपानीसम्बन्धी जनताको माग न्यायोचित भएकाले यसको सम्बोधनमा आफू लागि परेको मन्त्री कार्कीले स्पष्ट पार्नुभयो ।
पानी एक प्राकृतिक स्रोत भएको र हाम्रो देशमा प्रशस्त रहेको, प्राणी जगतका लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिने भन्दैं मन्त्री कार्कीले हाम्रो देश विश्वमा जलस्रोतमा धनी देश पनि भएको स्पष्ट पार्नुभयो । पानी विना मानिस बाच्नै नसक्ने उहाँको तर्क छ । खासगरी, पहाडी क्षेत्रबाट बसाइँ सर्नुपर्ने मुख्य कारण पिउने पानीको चर्को अभाव प्रमुख कारण बनेको बताउँदै मन्त्री कार्कीले वनजंगलको फडानी, गाउँगाउँमा सडक लैजाने भन्दै गरेको डोजर खनाई र परम्परागत कुवा र धाराको संरक्षणको अभाव र नदी खोलामा फोहर फ्याक्ने बानीले पानीका मुहानहरू सुक्ने स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनलाई पनि दोष लगाउन सकिन्छ होला, पानीका मुहान सुक्नुमा । तर, कारण जे भए पनि नेपाली जनतालाई पिउने पानीको अभाव दिनदिनै बढ्दै गएको छ । यसतर्फ अहिलेपनि गम्भीर नबने कहि बन्ने त ? उहाँले प्रश्न गर्नुभयो ।
पालिकाभित्र सञ्चालनमा रहेका खानेपानीहरु स्थानीय सरकारको स्वामित्वमा रहने यो भने अहिले जसरी खानोपानीको समस्या छ त्यो थोरै भएपनि हल हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । खानेपानीको पहँुच नपुगेका ठाउँमा खानेपानी पुर्याउन प्रदेश सरकार वा स्थानीय सरकारको स्वामित्वमा रहेका खानेपानीहरुबाट जडान भएको धाराको १० प्रतिशत धारा निःशुल्क जडान गर्नुपर्नै कुरालाई तत्काल कार्यान्वयन गराउने उहाँले बताउँनुभयो । एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने हुँदा पानी शुद्धिकरणमा ध्यान दिन उहाँले सवैमा आग्रह समेत गर्नुभयो । गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत र आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् । भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पानीमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको उहाँको भनाई छ ।