१३ साउन, झापा : कोशी प्रदेश पछिल्लो समय मुख्यमन्त्री र मन्त्री उत्पादनको राम्रे थलो बन्दै. गएको छ । मंसिर ०७९ को निर्वाचनयताका १८ महिनामा सात प्रदेशमा २३ वटा सरकार बनेका छन् । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशले प्रदेश सभाको दोस्रो कार्यकालको यो अवधिमा सबैभन्दा धेरै मुख्यमन्त्री र मन्त्री प्राप्त गर्न सफल भएको छ । यो अवधिमा छ मुख्यमन्त्री पाएको कोशीमा ५३ जना मन्त्रीले मन्त्रालयको कमाण्डर सम्हालि सकेका छन् । मन्त्रीको यो संख्या दोहोरिएका र तेहरिएकाकोसहित हो ।
पछिल्लो पटक बहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्की २७ वैशाख ०८१ मा नियुक्त हुनुभएको थियो । छ जना मुख्यमन्त्री पाएको कोशीमा ‘घुमिफिरी रुम्जाटार’ भने झै नेकपा एमालेका हिक्मतकुमार कार्की, नेपाली काँग्रेसका उद्धव थापा र केदार कार्कीले मुख्यमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको थियो । कोशी प्रदेश सरकार निर्माणका विषय अदालतसम्म पुगेको थियो ।
कोशी प्रदेश सभाको पहिलो कार्यकालमा समेत मुख्यमन्त्रीको अवसर प्राप्त गर्नुभएका कार्की दोस्रो कार्यकालमा २४ पुस ०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, र जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभयो ।
मुख्यमन्त्री कार्की अल्पमतमा परेकै बखत ३२ जेठ ०८० अध्यादेशमार्फत आर्थिक वर्ष ०८०÷८१ का लागि बजेट प्रस्तुत गर्नुभएको थियो । अल्पमतको सरकारले १५ असारमा बहुमत गुमाएपछि बजेट पारित हुन सकेन । १५ असार ०८० मा पदमुक्त हुनुअघि मुख्यमन्त्री कार्कीले तीनपटक मन्त्रिपरिषद् विस्तार गगर्नुभएको थियो । त्यसपछि मुख्यमन्त्रीको कुर्सीमा बस्ने पालो आयो नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाको । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट थापा २१ असार ०८० मा मुख्यमन्त्री बने पनि सभामुखको हस्ताक्षर प्रयोग विषयमा सर्वाेच्चले थापालाई पदमुक्त गरिदियो । मुख्यमन्त्री थापाले चारपटक मन्त्रिपरिषद् विस्तार गरीसक्नु भएको थियो ।
फेरि १६ साउन ०८० मा मुख्यमन्त्री बन्नुभयो उहाँ । प्रदेश सभाको ज्येष्ठ सदस्यको पनि विश्वासको मत गणना भएको विषयमा सर्वाेच्चले थापालाई पदमुक्त मात्र गरेन, संसद्को सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो र २२ भदौ ०८० मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । उहाँले विश्वासको मत नपाएपछि एक महिनामै पदमुक्त हुनु पर्यो । कार्कीले दुईपटक मन्त्रिपरिषद् विस्तार गरीसक्नु भएको थियो ।
मुख्यमन्त्री कार्की पदमुक्त भएपछि कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका केदार कार्कीले नाम दर्ता गराउनुभयो । संविधानको धारा १६८ (५) अनुसार काँग्रेसका नेपाली काँग्रेसभित्र कोइराला परिवारका विश्वाशिला पात्र कार्कीले आफ्नै पार्टीका आठजना बागी सांसद लिएर एमालेको समर्थनमा २६ असोज ०८० मा प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्री नियुक्त हुनुभयो । फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको गठबन्धन कार्कीका लागि दशा बनेर आयो । त्यसपछि एक महिना अल्पमतको सरकार चलाउनु भएका कार्की २६ वैैशाखमा पदमुक्त हुनुभयो । त्यसवेलासम्म उहाँले तीनपटक मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको थियो ।
केदार कार्कीलाई पाखा लगाएर २७ वैशाख ०८१ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको छ । केन्द्रको राजनीति समिकरण अनुसार केहीदिनअघि मात्र माओवादी ‘आउट’ भएको छ भने नेपाली काँग्रेस ‘इन’ हुने अवस्थामा छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि एमालेसँगको सहकार्य तोड्न माओवादी बाध्य भएको हो । सरकार फेरबदल भइरहँदा प्रदेशमा कानुन निर्माण, विकासका काम र संसदीय समिति गठन प्रभावित बन्ने गरेको एकजना प्रदेश सभा सदस्यको भनाई छ ।
नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुबीच भएको बैठकले आठ वटा मन्त्रालय मध्ये चार÷चार वटा बाँडफाँड गर्ने सहमति भएको र कोशी प्रदेश सरकारका एमालेका मुख्यमन्त्रीसहित पाँच र काँग्रेसका चारजना जना मन्त्री रहने नेपाली काँग्रेसका एकजना प्रदेश नेताले जानकारी दिनुभयो ।