१० असोज, मेचीनगर : जिल्ला प्रशासन कार्यालय झापाले विहीबार जिल्ला समन्वय समिति झापा, नगर तथा गाउँपालिका प्रमुख, अध्यक्ष, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा जिल्लाका विपद् व्यवस्थापन कार्यालयका कार्यालय प्रमुखहरुबीच विविध विषयमा छलफल गरेको छ । छलफलले विभिन्न दशवटा महत्वपूर्ण निर्णय गरेको छ ।
विपद् व्यवस्थापन, चाडपर्व सुरक्षा, मेला महोत्सव सञ्चालन, बजार अनुगमन एवम् यातायात व्यवस्थापन लगायत समसामयिक विषयमा छलफल केन्द्रित थियो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा आयोजित छलफलमा २०८१ साउन १ गतेदेखि हालसम्म विपद् राहत वापत खर्च भएको जम्मा चार लाख ३० हजार रुपैयाँलाई अनुमोदन गदैं विपद्जन्य घटनाको तत्काल उद्धार, राहतमा खट्ने सुरक्षा निकाय जनप्रतिनिधि नागरिक समाज सवैलाई धन्यवाद ज्ञापन गरियो ।
जिल्लाका सरोकारवाला निकायसँगको समन्वयमा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा झापाको विशेष सहयोगमा तयार गरिएको झापा जिल्लाको विपद् प्रतिकार्य योजना, २०८१ लाई छलफलले अनुमोदन गरेको छ ।
जिल्लाको पूर्व पश्चिम लोकमार्ग विस्तार तथा सुधार आयोजनाको रुख कटानका क्रममा तथा वर्षा, हावाहुरी र चट्याङका कारण राजमार्ग क्षेत्रका सीसी क्यामराहरुका साथै जिल्लामा विभिन्न स्थानीय तहमा जडान भएका सीसी क्यामराहरु विग्रन गई सडक दुर्घटना नियन्त्रण, अपराध अनुसन्धानजस्ता कार्यमा समस्या सिर्जना भएकाले त्यस्ता सिसि क्यामराहरु मर्मत गरी सूचारु गर्नका साथै अत्यवश्यक थप स्थानहरुमा जडान गर्ने व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहहरुसँग समन्वय गर्ने छलफलले निर्णय गरेको छ ।
बाढी तथा डुबानजन्य विपद्को उच्च जोखिममा रहेका सन्दर्भमा ठूला नदीनालाहरुमा जनताको तटबन्ध कार्यक्रम कार्यालयले निर्माणधिन तटबन्धहरुमध्ये प्रत्येक वर्ष डुबान हुने क्षेत्रहरुमा प्राथमिकताका साथ बजेटको स्रोत सुनिश्चिता प्राप्त गरी यथाशीघ्र टेण्डर प्रक्रिया शुरु गर्ने र आगामी बर्षको मनसुन शुरु हुनु अघि नै कार्यसम्पन्न हुने व्यवस्था मिलाने समेत छलफलले निर्णय गरेको छलफलमा सहभागी मेचीनगर नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।
नेपालीहरुका महान चाडपर्वहरुको अवसरमा लामो विदा समेत हुने र सो समयमा चट्याङ, आगलागीलगायतका विपद्जन्य घटना समेत हुन सक्ने सम्भावनालाई ध्यान दिदैं सवै स्थानीय तहहरुले आफूसँग रहेका एम्बुलेन्स, दमकलहरु चौबीसै घण्टा तयारी अवस्थामा राख्ने, नगर अस्पताल, स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टरहरुका सेवा सूचारु राख्ने व्यवस्था मिलाउने समेत छलफलले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । प्रजिअ बास्तोलाका अनुसार दशै, तिहार, छठ नजिकिँदै आइरहेको सन्दर्भमा नागरिकहरुले चाडपर्वहरु शान्तिपूर्वक उल्लासमय वातावरणमा मनाउन पाउने व्यवस्थाका लागि सुरक्षा निकायबाट तर्जुमा भएको प्रस्तावित चाडपर्व लक्षित सुरक्षा योजना, २०८१ मा प्राप्त थप सुझावहरु समेत समावेश गरी कार्यान्वयन गर्ने व्यवस्था सुरक्षा निकायले मिलाउने छ ।
यसैगरी, छलफलले जिल्लाको विकास निर्माण, शन्ति सुरक्षा, सिमा गतिविधिहरु,सेवा प्रवाहलगायतका समसामयिक विषयहरुमा विस्तृतमा समिक्षा गर्नुका साथै प्रहरी प्रधान कार्यालयले समाजमा शान्ति व्यवस्था कायम राख्न, लागूऔषध नियन्त्रण गर्न कानूनको कार्यान्वयन गरी कानूनको शासन लागु गर्न, अपराध न्यूनिकरण र नियन्त्रण, बाल विवाह, बहु विवाह, छुवाछुत जस्ता सामाजिक विभेदको अन्त्य जस्ता महत्वपूर्ण विषयहरु समेटिएको पाठ्यक्रम विकास गरी देशैभर विद्यालयहरुमा सामाजिक शिक्षा, स्थानीय पाठ्यक्रममा समावेश गरी विभिन्न कक्षामा अध्ययन अध्यापन गराउन अनुरोध गरेको र उक्त विषयहरु पाठ्यक्रममा समावेश गर्न उपयूक्त र अर्थपूर्ण देखिएको हुँदा उक्त पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने व्यवस्थाका लागि सवै स्थानीय तहहरुलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।
बजारमा न्यून गुणस्तरीय वस्तुहरुको आपूर्ति हुन सक्ने कृत्रिम अभाव कालोबजारी जस्ता विकृति र विसंगतिहरु समेत देखिन सक्ने सम्भावना भएकाले जिल्ला÷ इलाका प्रशासन कार्यालय , स्थानीय तह, सुरक्षा निकाय र अन्य अनुगमन सम्बद्ध निकायहरुको संयुक्त अनुगमन र कारवाही प्रक्रिया प्रभावकारीरुपमा अघि बढाउने समेत छलफलले निर्णय गरेको विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिनुभयो ।
मनसुनको अन्त्यसँगै चाडपर्वहरु संगसँगै मेला, पर्व, महोत्सव, खेलकुद कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्ने विगतको अनुभव रहेको तथा त्यस्ता कार्यक्रमहरुको आयोजनाको क्रममा आयोजकबीच स्थानको विवाद, स्थानीय बासीन्दासँग विवाद, झै झगडा, ठगी, लैङ्गिकहिँसा र जुवाजन्य गतिविधिहरु समेत हुने गरेका सूचना प्राप्त हुने गरेकोले स्थानीय उत्पादनले बजार पाउने, स्थानीय कला संस्कृतिको संरक्षण हुने, रोजगारी सिर्जना हुने, जनचेतना अभिवृद्धि हुने खालका र स्वास्थ्य मनोरञ्जनात्मक विवादरहित मेला महोत्सव पर्वमात्र स्थानीय तहको सिफारीसमा निश्चित अवधिभर ‐अधिकतम दशदिनभन्दा बढी नहुने गरी ) सञ्चालनको व्यवस्था गर्ने र जुवाजन्य कुनै पनि गतिविधि हुन नदिने, सुरक्षा निकायबाट कडाइका साथ अनुगमन र कारवाही गर्न छलफलले सर्वसम्मत निर्णय गरेको छ । छलफलमा डिभिजन बन कार्यालय झापा, जनताको तटबन्धनका तर्फबाट हालसम्म भए गरेका कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
छलफलमा मेचीनगर नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेती, भद्रपुर नगरपालिकाका प्रमुख गणेशप्रसाद पोखरेल, विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देन तामाङ,कन्काई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेल,गौरादह नगरपालिका उपप्रमुख जलवर्षा राजवंशी, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, बाह्रदशी गाउँपालिकाका महताव आलम, अर्नुनधारा नगरपालिका ११ का वडाध्यक्ष खगेन्द्र इङनामको सहभागिता रहेको थियो । यसैगरी, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, प्रविन पोखरेल, नेपाली काँग्रेसका देउमान थेवे, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेललगायत लोकतान्त्रिक समाजवादी पार्टीसहितको सहभागिता रहेको थियो ।
सहायक प्रमुख जिल्ला असधकार विश्वराज नेपाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, नेपाली सेना अरिदमन गण चारआलीका अभिशेक विष्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख, कृषि ज्ञान केन्द्रका चेतराज भण्डारी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन झापाका हरिकृष्ण आचार्य, मेची प्रादेशिक अस्पताल भद्रपुरका सुमन बस्नेत, , शिक्षा विकास तथा समन्वय इकाइका देवेन्द्रबहादुर मल्ल, जनताको तटबन्धन कार्यक्रम झापका नवीनकुमार व्याञ्जु, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका शितल भट्टराई, डिभिजन वन कार्यालयका मेघराज राई, नेपाल टेलिकम सतिश कर्ण, स्वास्थ्य कार्यालयका युवनाथ वराललगायतको सहभागिता थियो ।
नेपाल विद्युत प्राधिकरण भद्रपुरका राजमणि बजगाईँ, विर्तामोडका सञ्जिवकुमार शाह, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कविन्द्रविक्रम नेम्वाङ्ग, पूर्वाधार विकास कार्यालयका जितेन्द्रकुमार कर्ण, नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखाका हरिशरण खड्का, झापा उद्योग संघका यमबहादुर श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, नेपाल पत्रकार महासंघका चिन्तामणि दाहालसमेतले छलफलमा सहभागी जनाउनुभयो ।
सहभागीहरुले चाडपर्वहरुलाई व्यवस्थित गदैं मेला र महोत्सवका नाममा हुने विभिन्न विकृति नियन्त्रण गर्न सवैजना एक ठाउँमा उभिनुपर्ने बताएका थिए । चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने, चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने बताएका छन् । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने भन्दैं सहभागीहरुले वक्ताहरुले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत रहेको विचार राखेका थिए ।