२० चैत, मेचीनगर : कानूनी व्यवस्थाविपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ्ग कसुर भनिन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अन्य कुनै व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्याङ्कन गरि ऋण लिने तथा दिने काम बैंकिङ्ग कसूरभित्र पर्छन् । नेपालमा बैंकिङ्ग कसूर तथा यसमा दिइने सजायको बारेमा ‘बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४’ मा उल्लेख गरिएको छ ।
तर, पनि यस्ता प्रकृतिका मुद्धामा कमि आएको छैन् । जुन अपराध पछिल्लो समय प्रहरीको टाउको दुखाइको विषय बनेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो आठ महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मुद्धा शाखामा यस्ता प्रकृतिको ११ वटा मुद्धा दर्ता भएको छ । विभिन्न प्रकृतिका मुद्धामध्ये बैंकिङ्ग कसुर चौथो स्थानमा रहेको कार्यालयले जनाएको छ ।
कतिपय बैंकिङ्ग कसुरका मुद्घा आर्थिक अपराधसँग जोडिने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिनेलगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका पनि पर्ने गरेका छन् । वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । कतिपयलाई चेक बाउन्ससम्बन्धी मुद्घामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविक भन्दा धेरै भरेर पनि प्रहरीमा पुग्ने गरेको अनुभव प्रहरीसँग छ ।
अधिकाँश बैंकिङ कसुरका मुद्धामा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतरूपमा रकम चोरी गर्नेलगायत आर्थिक अपराधका घटना छन् ।
प्रहरी अधिकृतका अनुसार पीडितको उजुरीका आधारमा यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान पश्चात अदालतमा पठाउने र अदालतले धरौटी खुलाएर माग गरेपछि माग अनुसारको धरौटी बुझाएर अधिकाँश छुट्ने गरेका छन् । अदालतले खुलाएको धरौटी रकम बुझाउँन नसक्ने थोरै मात्र कारागार जाने गरेको प्रहरीले जनाएको छ । बैंकिङ कारोबारसँगै बैंकिङ कसुरका मुद्घा पनि बढेको प्रहरीको अनुमान छ ।
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको थाहा हुदाँहुदैँ चेक दिन पाईदैन् । यदि कसैले त्यसो गरेमा बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिबाना र तीन महिनासम्म कैद हुन्छ । चेक बाउन्स भएमा राष्ट्र बैंकमा कालो सूचीमा राख्न समेत सकिने कानुनी प्रावधान छ । बैंकिङ कसुर अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले १ वर्षभित्र जाहेरी दिन सकिने उल्लेख छ ।’
सामान तथा सेवाको भुक्तानी नदिने, व्यवसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्घा पनि प्रहरीमा पुग्ने गरेका छन् । फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत जिल्लाका पालिका स्तरीय न्यायिक समितिमा पुग्ने गरेका छन् ।
यसैगरी, बालविवाह समबन्धी नेपालको कानूनी व्यवस्था, मुलुकी अपराध ‐संहिता) ऐन, २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु हुदैंन । यस्तो कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । कानूनले तोकेो उमेर भन्दा पहिले विवाह गरे वा गराएमा त्यस्तो व्यक्ति कानूनतः दण्डित हुनेछ । आठ महिनामा यो प्रकृतिको मुद्धा एउटामात्र दर्ता भएको कार्यालयले जनाएको छ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एसियामा नेपाल बङ्गलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि फागुनमहिनासम्म सवैभन्दा बढी लागुऔषधका ७६ वटा मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ । सो अवधिमा ६८५ ग्राम ७७० मिलिग्राम लागुऔषध बरामद गरेको छ । खुला सिमाना र छिमेकी भारतीय बजारमा लागुऔषध सहजरुपमा पाईने भएकाले प्रहरीले यसलाई पूर्णरुपमा नियन्त्रण गर्न नसकेको र दिनप्रतिदिन यो लागुऔषधको समस्या जटिल बन्दैं गएको प्रहरी अधिकारीहरु बताउँछन् ।
आठमहिनाको अवधिमा यस कार्यालयमा अभद्र व्यवहकारका ३७, चोरीका ५, कर्तव्य ज्यानका ३, झुण्डिएर आत्महत्याका १२, वेवारिसेका ६, मानव बेचबिखनका १, आपराधिक विश्वसघातका १, भबितव्य ज्यानका ८, सवारी ज्यानका ५, जवरजस्ती करणीका ६, आत्महत्या ‐िवष सेवन र घाटी रेटेर) २, ठगिका ४, पानीमा डुबी मरेका २, बालयौन दुरुपयोग १ तथा बहुविवाहका १ वटा मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ ।