मेचीनगरका सडक धमाधम कालोपत्र हुदैं, सडक कालोपत्र भएपछि स्थानीय खुशी

२४ चैत, मेचीनगर : झापा मेचीनगर नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् । मेचीनगरका सवै वडामा प्रायः खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्र गर्नेलगायत धेरै स्थानमा एकसाथ कालोपत्रको कार्य पनि चलिरहेको छ ।

नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको सहिद विश्वनाथ मार्गको काँकरभिट्टाबाट कालोपत्र गर्ने काम सुरु भएको छ । यस्तै अर्काे गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखि मेचीनगर–९ को थोप्लेविरानसम्म चार दशमलव ८ किलोमिटर सडक निर्माण हुँदैछ । वर्षौँदेखि फोहोर फाल्ने डम्पिङ साएड झै देखिने र क्याम्पस रोड हुदैं काँकरभिट्टा माध्यमिक विद्यालय जाने बाटो धमाधम बनाउन सुरु गरिएको छ ।

मेचीनगर नगरपालिकाको बजारका मुख्य चोक तथा गल्लीहरुमा सडक मर्मत तथा कालोपत्र गर्ने कार्यले तीव्र गति पाएको छ । मेचीनगर नगरपालिका वडा नम्बर —११ मा रहेको लवनडाँगी लोवाडी र टिमाई पश्चिम सिर्जना मार्ग छविलाल मार्ग शनिबारबाट कालोपत्र गर्ने काम शुरु भएको छ । यसअघि थुप्रै सडकहरु कालोपत्रे भईसकेको मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

मेचीनगर नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजनाअनुरुप कालोपत्र गर्ने कार्यलाई अघि बढाइएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । ‘हामी आएपछि केही सडकलाई कालोपत्र गर्ने कार्य चलिरहेको छ, केही सडक कालोपत्र भइसकेका छन’, उनले भनिन— ‘नगरका १५ वटै वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुग्ने गरी शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।’ कोरोनाका कारण कालोपत्र गर्ने काम रोकिएको थियो । अहिले ती बाटामा समेत कालोपत्र गर्ने काम शुरु गरिएको छ ।

 

मेचीनगरका ग्रामीण सडक कालोपत्र नहुँदा बर्खाको समय यहाँका स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको नगरवासीले पीडा सुनाए । नगरले निर्माण गरेका यहाँका थुप्रै सडक अझै कालोपत्र हुन सकेका थिएनन् । यसरी सडक कालोपत्र नहुँदा बर्खाको समय यहाँका स्थानीयले यातायातमा कठिनाइ भोग्दै आएको मेचीनगर वडा नम्बर —७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले बताए । कच्ची सडकले हिउँदको महिनामा केही सहज बनाए पनि बर्खाको समय थोरै पानी परे पनि ती सडक भत्किएर सधैँ अवरुद्ध हुने गरेको उनले बताए  ।

बर्खामा सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक उपभोग्यका सामग्राी ढुवानी तथा आउजाउमा समस्या हुने गरेको अवस्थामा अहिले अधिकांश गाउँबस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा पुगेका छन् । सडक कालोपत्र पालिका,प्रदेश तथा संघीय सरकारबाट प्राप्त भएको बजेटबाट हुने गरेको छ । सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसमक्ष बजेट माग गरिएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।

‘सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य थिए ‘ स्थानीय अम्बरबहादुर लामाले भने —‘ गोकुल मार्ग कालोपत्र भएपछि र टिमाई तथा निन्दा खोलामा पुल बनेपछि मेचीनगर वडानम्बर ६ र ७ हुदैं सदरमुकाम चन्द्रगढी पुग्न निक्कै छोटो भएको छ । सहिद मार्ग विस्तार तथा कालोपत्र हुँदा अहिले अधिकाँश मानिस यहि बाटो प्रयोग गर्ने गरेको बताइएको छ । मेचीनगर —६ र ७ को इटाभट्टा हुँदै सदरमुकाम चन्द्रगढीलाई जोड्ने गोकुल मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको सोहि ठाउँका मनि चेञ्जर व्यवसायी गणेश मैनालीले बताए ।

अहिले बाटोको स्तोरन्नती गरी कालोपत्र भएपछि चन्द्रगढी विमानस्थल ‐एयरपोर्ट) हुदैं काठमाडौं जाने हवाई यात्रुसहित सरकारी कामकाजका लागि सदरमुकाम जाने सर्वसाधारणलाई समेत राहत मिलेको उनको भनाई छ । अहिले काँकरभिट्टाबाट २० देखि २५ मिनेटमा चन्द्रगढी विमास्थल ‐एयरपोर्ट) पुगिने चालक प्रकाश श्रेष्ठले बताए ।

स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप पनि मेचीनगरले धमाधम कालोपत्र गर्ने कामलाई तीब्रता दिइएको उपप्रमुख उप्रेतीको भनाई छ । सहिद मार्ग स्तरोन्नति र कालोपत्रका लागि नगरपालिकाले पहल नगरेको होइन । ‘सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना अलपत्र परेको थिए ’स्थानीयवासी मैनालीले भने —‘ पछिल्लो समय स्थानीय सरकारले धमाधम ती सडकहरुको मर्मत तथा कालोपत्र गर्न थालेकाले स्थानीयवासी खुशी व्यक्त गरेका छन् । ’

विगतको सूर्योदय मार्गलाई मेचीनगरपालिकाले ‘सहिद मार्ग’को नाम दिएको छ । झापाका पहिलो सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ मार्गको रुपमा सडक नामाकरण भए भएपनि मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक विस्तार र कालोपत्र हुन सकेको थिएन् । विश्व बैंकको अन्तरगत नगरपालिकाले काँकरभिट्टा भट्टराई चोक थोरै पूर्वको चोकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।

मेचीनगरको दुई ठुला सडकमध्ये विश्वनाथ मार्गको ठेक्का कनकाई इन्टरनेशनल विल्डर्स प्रालिले लिएको छ । पहिलो चरणमा ८ सय मिटर कालोपत्र हुनेछ । क्रमशः कालोपत्र हुँदै जानेछ । आगामी १५ जुलाई २०२५ मा सक्ने गरी सहिद विश्वनाथ मार्गको ठेक्का ३० करोड ८७ लाख ५७ हजार ९ सय १८ रुपैयाँ २० पैसामा सम्झौता गरिएको छ ।

नगरका अधिकाँश सडक कालोपत्रे गरिने खबरले उत्साहित स्थानीयवासी सडकको सामान्य मर्मत सुधार पनि हुन नसक्दा सडकको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाँध्यता टरेको बताउँछन् । कतिवटा योजना नै अलपत्र पर्दा उनीहरु निराश पनि भएका थिए । तर, पछिल्लो समय भने उनीहरुमा खुशी छाएको छ । पक्की सडकसँग जोडिएमा यात्रुको आउजाउ सहज हुनुका साथैग्रामीणक्षेत्रमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ । सडक स्तरोन्नति नहुँदा ५० रुपैयाँको विद्युत र खानेपानी महशुल बुझाउन २ देखि ४ सय रुपैयाँसम्म तिरेर काँकरभिट्टा आइपुग्थे ।

यहाँ आउन घण्टौँ यात्रा गर्नुपर्ने बाँध्यता थियो । पछिल्लो समय यो बाँध्यता क्रमस कम हुदैं गएको छ । ग्रामीण सडक कालोपत्र भएका कारण लोकमार्गहुँदै सदरमुकाम र नगरपालिकाको यात्रा सहज र छरितो भएको मेचीनगर वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगीको भनाई छ । नगरपालिकाका पूर्वाधार शाखा प्रमुख इञ्जिनियर रोशन रिमालका अनुसार पहिलो पटकको स्थानीय तहको निर्वाचन भएयता नगरपालिकालेमात्र करीव ७० किलो मिटर सडक कालोपत्र गरेको छ । संघीय र प्रदेश सरकारले समेत नगरका विभिन्न वडामा कालोपत्रका लागि बजेट विनियोजन गरी सडक कालोपत्र गरेको इञ्जिनियर रिमालले जानकारी दिए ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.