१४ बैशाख, मेचीनगर : यसवर्षको तेजराज खतिवडा ‐तेराख) देवकोटा महाकवि साहित्य पुरस्कारबाट मेचीवारी र पारीका दुईजना स्रष्टा सम्मानित भएका छन् । साहित्यकार तेराख प्रतिष्ठानले धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा नगद ५१ हजार राशी र सम्मान पत्रसहित मेचीपारी भारतको शिलीगुढीका साहित्कार ज्ञानेन्द्र खतिवडा र मेचीवारी झापाका साहित्यकार विरही अधिकारी तेराख देवकोटा महाकवि साहित्य पुरस्कारबाट सम्मानित भएका हुन् । भारत शिलीगुढीका प्रसिद्ध कवि, भाषा संग्रामी अथक सर्जक नेपाली साहित्य र भाषाको मर्म बुझ्ने प्रबुद्ध व्यक्तिका रुपमा खतिवडालाई लिने गरिन्छ ।
प्रतिष्ठानका संरक्षक ‐साहित्यकार तेराखका छोरा) लेखनाथ खतिवडाका अनुसार प्रतिष्ठानले नेपाली भाषा, साहित्य र कलाका सिर्जनामा पुर्याएको योगदानका लागि नगद ५१ हजारको जनही नगद पुरस्कारसहित उनीहरुलाई सम्मानित गरिएको जानकारी दिए ।
यसैगरी? कृषि क्षेत्रमा उदाहरणीय योगदान पुर्याएको भन्दै बुद्धशान्ति वडा नं. ६ का राजेन्द्र चालिसे र धुलाबारी माध्यमिक विद्यालयमा कक्षा १२ की छात्रा स्मृति लिम्बुलाई जनही रु. २१ हजारसहित सम्मान गरिएको थियो । चालिसेलाई मधुसुदन कृषि पुरस्कार र लिम्बुलाई पद्मादेवी छात्रा पुरस्कार प्रदान गरिएको हो । सवैलाई प्रमुख अतिथि देवकोटा संघ, पश्चिम बंगाल भारत शिलीगुढीका अध्यक्ष मिलन रुचाल, विशिष्ट अतिथि प्राज्ञ पवन राजवंशीलगायतले सम्मान पत्रसहित नगद प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रुचाल, विशिष्ट अतिथि पवन राजवंशी, प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, सम्पूर्ण संघ संस्थाका तर्फबाट आख्यानकार पुण्यप्रसाद खरेललगायतले बोलेको कार्यक्रममा आगमन खतिवडाले कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार, सामाजसेवी र राजनीतिक नेतृत्व तहको विशिष्ट उपस्थिति रहेको थियो । प्राडा गंगाप्रसाद अधिकारी, सहप्राध्यापक चूडामणि वशिष्ठ, मोहन ठकुरी, वरिष्ठ पत्रकार तथा गीतकार चन्द्र भण्डारी, मोनिका प्रधान, संस्कृतका प्रसिद्ध विद्वान लेखक विद्यापति उपाध्याय दाहाल, प्रसिद्ध साहित्यकार भविलाल लामिछाने, धुलाबारी माविका अध्यक्ष गणेशविक्रम नेम्वाङ, जी सुनार, प्राज्ञ सुभद्रा भट्टराईलगायतको कार्यक्रममाउपस्थिति रहेको थियो ।
प्रतिष्ठानका सचिव जय भण्डारीले सञ्चालन र उपाध्यक्ष दुर्गा खतिवडाले स्वागत गर्नुभएको कार्यक्रमको उद्घाटन दीप प्रज्ज्वलन र साहित्यकार तेराखको तस्वीरमा माल्यर्पण गरेर भएको थियो ।