प्रसूतिका लागि शल्यक्रिया :रहर कि बाध्यता ?

२१ बैशाख मेचीनगर:  पछिल्लो समय प्राकृतिक रुपमा भन्दा पनि शल्यक्रियाबाट बच्चा जन्माउँने प्रवृत्ति बढेको छ । शल्यक्रिया गर्नु आफैमा जोखिमपूर्ण अवस्था पनि हो । महिला तथा स्त्री रोग विशेषज्ञ ‐विज्ञ) हरुको भनाईमा कुनै उपकरणको प्रयोग र अपरेशन (शल्यक्रिया) बिना आफैं प्रसव बेथा लागेर योनी मार्गबाट शिशु जन्मनुलाई सामान्य डेलिभरी भनिन्छ । तर विभिन्न स्वास्थ्य अवस्था र जटिलताका कारण पेट चिरेर शिशुलाई जन्म दिनु सिजेरियन सेक्सन (शल्यक्रियाबाट प्रसूति) अर्थात् ‘सिएस’ हो । शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका बाहेक प्रसव पीडालाई एक दिन खप्न डराउँदा पहिलो बच्चा अप्रशेन गरेर निकालेपछि दोस्रो पटक पनि शल्यक्रिया गरी निकाल्नुपर्ने बाँध्यता झै छ ।

पहिलो पटक शल्यक्रिया गरिसकेपछि दोस्रो बच्चा जन्माउँदा नर्मल डेलिभरी अर्थात् प्राकृतिक तरिकाबाट जन्माउन सकिँदैन भन्ने चाँहि नभएको तर कहिलेकाहीँ पाठेघर फुट्ने सम्भावना हने बरिष्ठ स्त्रीरोग विशेषज्ञ तपनलाल दासको भनाई छ । ‘पहिले अपरेशन गरेका महिलाको पुनः सिएस गर्नुपर्ने पनि हुन्छ । यो सबैलाई अनिवार्य होइन ’ दासले भने —‘बच्चाको धड्कन गडबडी भए, बच्चाले पेटभित्र दिसा गरे या दिसा खाएपनि सिएस गर्नुपर्ने हुन्छ । ’

सामान्य प्रसूतिभन्दा शल्यक्रियामा नै बढी जोड दिने स्वास्थ्य संस्थामा सरकारीको तुलनामा धेरैजसो निजी अस्पताल नै छन् भने, ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा शल्यक्रियामार्फत बच्चा जन्माउने महिला धेरै रहेको, शल्यक्रिया गराउनेमा शिक्षित महिला नै बढी रहेको चिकित्सकहरुको भोगाई छ । सबैसँग शल्यक्रिया गर्दा लाग्ने खर्च धान्न सक्ने क्षमता नभएकाले पनि शहरका भन्दा ग्रामीण भेगका गर्भवती महिलामा शल्यक्रिया गर्ने दर कम भएको हुन सक्ने अनुमान पूर्ण—टुङ्ग विर्ता सिटी अस्पताल विर्तामोडका स्त्रीरोग विशेषज्ञ डा. अजय अग्रवाल गर्छन् । विशेषगरी सहरी क्षेत्रका अधिकांश महिलाले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेका छन् ।

पछिल्लो समय शल्यक्रियामार्फत बच्चा जन्माउने क्रम अस्वाभाविक रूपमा बढेको उनी बताउँछन् । ‘ मासिक ३ देखि ४ सयको हाराहारमिा म गर्भवती महिलाहरुको स्वस्थ्य परीक्षण गर्दछु । ’ डाक्टर अग्रवालले भने —‘त्यसमा एकदेखि डेढसयजति सुत्केरी हुन्छन ।’ सिजेरियन सेक्सन (शल्यक्रियाबाट प्रसूति) अर्थात् ‘सिएस’ गराउनेको संख्या ७० प्रतिशत बढी हुन्छ । सामान्य प्रसूतिमा दुखाइ धेरै हुन्छ भन्ने डर नयाँ पुस्तामा बढी देखिने गरेका कारण पनि पछिल्लो समय नेपालमा ‘नर्मल डेलिभरी’भन्दा शल्यक्रिया (सिजरियन सेक्सन)मार्फत बच्चा जन्माउनेको संख्या अस्वाभाविक रूपमा बढ्दै गएको विएण्डसी अस्पताल विर्तामोडका स्त्रीरोग विशेषज्ञ डा. सिवेश चौधरीको भनाई छ ।

भनेकै साइतमा बच्चा जन्माउन, शरीर बिग्रिन्छ भन्ने भ्रमले महिलाहरू शल्यक्रिया माग गर्ने र खासगरी इन्टरनेट पहुँच हुने महिलाबाट पनि शल्यक्रियाको माग बढी हुने गरेको डाक्टर चौधरीको अनुभव छ । प्रसूतिका लागि शल्यक्रिया ः रहर कि बाध्यता ? अहिले सर्वत्र प्रश्न तेर्सिन थालेको छ । ‘ यो न रहर हो न बाँध्यता डाक्टर चौधरीले भने आम गर्भवती महिलाहरुले पछिल्लो समय शल्यक्रिया(सिजरियन सेक्सन)आवश्यकताका रुपमा लिन थालेका छन् । विर्तामोड नगरपालिकाको नगर अस्पतालमा समेत कार्यरत डाक्टर चौधरी प्रसूति व्यथाको डरले पहिल्यै शल्यक्रिया माग गर्ने गरेको बताउँछन् । ‘अस्पतालमा आउने अधिकाँश गर्भवती महिलाको एउटै भनाई छ दुखाइ सहन सकिन्न अप्रेसन गरीदिनु बरु ।’ उनले भने । चिकित्सकहरुले गर्भवतीको स्वेच्छाका कारण शल्यक्रिया गरिएको बताए पनि सेवाग्राही महिलाले भने चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गरेको भन्ने पनि सुनिन्छ । तर, चिकित्सकहरु भने यसलाई स्वीकार गर्न तयार तयार छैनन् । विश्व स्वास्थ्य संगठनले शल्यक्रियाबाट गरिने प्रसूति १० देखि १५ प्रतिशतभन्दा बढी हुन नहुने बताएको छ । तर, नेपालका सरकारी अस्पतालमा नै सुत्केरी हुने ५० प्रतिशत महिलाको शल्यक्रिया गर्ने गरिएको स्वयम चिकित्सहरु बताउँछन् । त्यसमा पनि निजी अस्पतालमा त यो दर झनै बढी छ । मासिक एकहजारको हाराहारीमा गर्भवती महिलाको स्वस्थ्य परीक्षण गरेर परामर्श दिन्छन उनी । त्यसमा मासिक लगभग ५० प्रतिशत शल्यक्रिया गर्ने उनको भनाई छ ।

प्राकृतिक रुपमा बच्चा जन्माउँदा आमा र शिशुको ज्यान जाने खतरा भएको अवस्थामा यस्तो शल्यक्रिया गरिन्छ । प्राकृतिक प्रसूति व्यथाबाट बच्न र शारीरिक सौन्दर्य कायम राख्न कतिपय सहरी महिला आफैं शल्यक्रिया रोज्न थालेको चिकित्सकहरुको अनुभव छ । महिलाहरुमा बढ्दो मोटोपना, मधुमेह, उच्च रक्तचाप र उमेर ढल्किएपछि हुने गर्भधारणलगायतका कारण आजकाल शल्यक्रियामार्फत् बच्चा जन्माउने डाक्टर चौधरीको भनाई छ । मनमोहन मेमोरियल सामूदायिक अस्ताल विर्तामोडका स्त्रीरोग विशेषज्ञ एकराज गौतम जोखिम लिन नचाहने प्रवृत्तिका कारणले पनि पछिल्लो समय यो संख्या बढेको बताउँछन् । उनी दैनिक १५ देखि २० जना यस्ता महिला हेर्छन् । त्यसमा ५० देखि ६५ प्रतिशतको शल्यक्रिया हुने उनी बताउछन् । सहरी महिलामा शल्यक्रियाबाटै बच्चा जन्माउने चाहना र उनीहरूलाई प्राकृतिक प्रसूतिका सकारात्मक पक्षबारे बुझाउन नसक्नुले पनि यो दर उल्लेख्य घटाउन नसकेको सम्बन्धित चिकित्सक बताउँछन् ।

शल्यक्रियाबाट प्रसूति गर्दा पिसाबथैली काटिने, पाठेघर फुट्ने, सुत्केरी छिटो सामान्य अवस्थामा फर्किन नसक्ने, छिटो शारीरिक तन्दुरुस्ती नहुनेलगायत जटिलता आउन सक्ने चिकित्सक बताउँछन् । यसकारण पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाबाहेक अन्य अवस्थामा शल्यक्रिया गर्न उपयुक्त हुँदैन भन्ने जनचेनता फैलाउनका लागि नयाँ कार्यक्रम ल्याउने सुझाँव उनीहरुको छ । यदि सिजेरियन प्रसूति भएको छ भने अर्को गर्भधारणका लागि स्वास्थ्य अवस्था ठीक भए कम्तीमा पनि १८ महिना वा ४ देखि ५ वर्ष ब्रेक लिनुपर्ने डाक्टर एकराज गौतमको सुझाँव छ । सिजेरियन डेलिभरी हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने, शरीरमा आवश्यक पोषक तत्वको कमी हुनसक्ने भएकाले त्यसलाई पूरा गर्नुपर्ने, डाइटमा ६ महिनासम्म आइरन र क्याल्सियम सामेल गर्नुपर्ने, प्रोटिन पनि लिनुपर्ने, चिकित्सकको सल्लाहबमोजिम पेटको अभ्यास गर्नुपर्ने, भारी सामान उठानबाट बँच्नुपर्ने चिकित्सको सुझाव छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.