७ जेठ विर्तामोड : प्रेस चौतारी झापाले पत्रकारितामा नवीन प्रविधिको प्रभाव र संस्थाको भावी योजना विषयमा सदस्यहरूलाई प्रशिक्षित गरेको छ ।
पत्रकारितामा न्यू मिडियाको प्रयोग र भावी कार्यदिशाका विषयमा प्रेस चौतारीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । चौतारीको सभाहलमा आयोजित प्रशिक्षणमा प्रेस चौतारी नेपालका शीर्ष नेतृत्वद्वारा प्रशिक्षण प्रदान गरिएको छ ।कार्यक्रममा केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, सचिव विक्रम लुइटेल, कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ लगायतले प्रशिक्षण दिए ÷
केन्द्रीय नेतृत्वले चौतारीलाई एक सुदृढ र व्यावसायिक पत्रकार संगठनको रूपमा स्थापित गर्ने योजनामा आफूहरू जुटेको स्पष्ट पारेको छ । अध्यक्ष पाण्डेका अनुसार यो वर्षलाई ‘प्रशिक्षण वर्ष’को रूपमा मनाउने निर्णय गरिएको छ । पत्रकारहरूको सीप र क्षमता विकासलाई प्रेस चौतारीले पहिलो प्राथमिकतामा राखेको अध्यक्ष पाण्डेले बताए । महासचिव लामाले संस्थालाई सबल र प्रभावशाली बनाउन सबै सदस्यलाई प्रशिक्षित गर्ने योजना प्रस्तुत गरे ।
उपाध्यक्ष चेतन अधिकारीले डिजिटल प्रविधिको विकाससँगै न्यू मिडियाको प्रयोग व्यापक बन्दै गएको उल्लेख गर्दै त्यससँगै आएका चुनौतिहरूलाई सामना गर्न सक्षम जनशक्तिको खाँचो रहेको धारणा राखे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेलले स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनमा स्थानीय सरकारको अपेक्षित सहयोग नपाएकोप्रति चिन्ता व्यक्त गरे । केन्द्रीय सदस्य माधव विद्रोहीले झापाको सञ्चार क्षेत्रको पछिल्लो अवस्था प्रस्तुत गरे ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले सदस्यहरूलाई संगठनको भावी कार्यदिशा र कार्ययोजनाबारे स्पष्ट जानकारी गराउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए । सोही अवसरमा झापा जिल्ला कमिटीद्वारा तयार पारिएको आगामी कार्ययोजना प्रेस चौतारी झापाका इन्चार्ज मनकुमार गदालले केन्द्रीय महासचिव लामालाई हस्तान्तरण गरे ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव युवराज आचार्यले गरेका थिए भने उपाध्यक्ष राजु पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।




































