विराटनगर, जेठ २१: विराटनगर महानगरपालिकाको आयोजनामा देशभरका स्थानीय सरकारका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ। यही जेठ २३ र २४ गते विराटनगरको वीरेन्द्र सभागृहमा यो सम्मेलन आयोजना गरिने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मेलनमा देशभरका २९१ महानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुख/उपाध्यक्षहरू सहभागी हुने बताए। यस प्रकारका कार्यक्रमले प्रमुख र उपप्रमुखबीचको सम्बन्ध सुधार गर्न र पालिकाका असल अभ्यासहरू आदानप्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ।
सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ। आयोजकका अनुसार, १३६ पालिकाहरूका साथै सबै महानगरपालिका र उपमहानगरपालिकाका उपप्रमुख/उपाध्यक्षहरूलाई निमन्त्रणा पठाइएको छ। यसका अतिरिक्त प्रदेश र जिल्लाको प्रतिनिधित्व हुने गरी पनि निमन्त्रणा गरिएको छ।
सम्मेलनका लागि करिब ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कोशी प्रदेश सरकारले यसका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी खर्च विराटनगर महानगरपालिकाको स्रोतबाट व्यवस्थापन गरिने मेयर कोइरालाले जानकारी दिए।
दुई दिनसम्म चल्ने यो सम्मेलनमा उपप्रमुखहरूको भूमिका, उनीहरूले गरेका प्रगति र अनुभव साटासाट गर्नका लागि विभिन्न सत्रहरू सञ्चालन गरिनेछ। यसले स्थानीय तहको नेतृत्वमा रहेका उपप्रमुखहरूलाई एकै ठाउँमा भेला गराएर अनुभव आदानप्रदान गर्ने र भविष्यका चुनौती तथा अवसरहरूमाथि छलफल गर्ने अवसर प्रदान गर्नेछ।




































