३२ असार, विराटनगर : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले सभापति शेरबहादुर देउवाप्रति समर्थन दोहोर्याउँदै विराटनगरको ऐतिहासिक कोइराला निवासबाट सशक्त सन्देश दिएका छन्। पत्रकार सम्मेलनमार्फत उनले देउवाको सफलतालाई पार्टीको सफलतासँग जोड्दै नेतृत्वमा एकताका लागि आफू कटिबद्ध रहेको बताएका छन्।
खाणले भने, “सभापति सफल भए पार्टी सफल हुन्छ। उहाँलाई सफल बनाउन सकेनौँ भने कांग्रेसलाई नै धक्का लाग्छ भन्ने मेरो विश्वास हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ।”
तर खाणको यो अभिव्यक्ति केवल समर्थनमा मात्र सीमित थिएन। उनको पछिल्ला गतिविधि र केही समयअघिका भनाइले कांग्रेसभित्रको शक्ति सन्तुलनमा पुनः चासो बढाएको छ। खासगरी भुटानी शरणार्थी प्रकरणमा उनी जेल बसेका बेला संस्थापन पक्षबाट अपेक्षित साथ नपाएको अनुभव उनले खुलेर व्यक्त नगरे पनि त्यसको आभास भने राम्ररी दिलाए।
यसअघि फागुनमा लुम्बिनीमा आयोजित एक कार्यक्रममा उनले पार्टीमा नयाँ नेतृत्व दिनुपर्ने बेला आएको टिप्पणी गरेका थिए। त्यसैबेला उनले संस्थापन पक्षसँगको दूरी बढाउँदै गएका थिए।
धरौटीमा रिहा भएपछि खाण डा. शेखर कोइरालासहित इतर समूहका नेतासँग नजिकिँदै आएका छन्। जेलमा रहँदा पनि कोइरालासहितका नेताहरूले साथ दिएको स्मरण खाणनिकट नेताहरूले बारम्बार दोहोर्याउने गरेका छन्।
कोइराला निवासमा पत्रकार सम्मेलन गर्नुको अर्थबारे पत्रकारले प्रश्न गर्दा खाणले उक्त स्थानलाई कांग्रेसको ‘पवित्र तीर्थ’को संज्ञा दिँदै भने, “यहाँ आउनु मन्दिर जस्तै हो, म यहाँको माटो छुन आएको हुँ।” उनले कोइराला परिवारको योगदानको स्मरण गर्दै कोइरालालाई गुटको सन्दर्भमा मात्र नसम्झन आग्रह गरे।
“कोइराला निवासमा आउनुलाई गुटको रूपमा नलिनु,” खाणले भने, “बीपी, गिरिजाबाबु, सुशीलजस्ता नेताहरूको योगदानलाई बिर्सन मिल्दैन।”
त्यहाँ विराटनगर महानगरपालिकाका मेयर तथा कांग्रेस मोरङका कार्यवाहक सभापति नागेश कोइरालासमेत उपस्थित थिए। उनले कोइराला निवासलाई सबै कांग्रेसीहरूका लागि ऊर्जा र प्रेरणाको स्रोत भएको बताए।
पछिल्लो समय कांग्रेसमा १५औँ महाधिवेशनको तयारी तीव्र छ। यसै सन्दर्भमा गुटगत ध्रुवीकरण बढिरहेको बेला खाणको यो उपस्थितिलाई नेताहरूबीचको समीकरण फेरिने संकेतको रूपमा पनि हेरिएको छ।
त्यसैबीच, केही दिनअघि पार्टी अनुशासन समितिले गरेका कारबाहीमाथि खाणले असन्तुष्टि जनाउँदै समितिले निष्पक्ष रुपमा प्रतिवेदन दिनुपर्ने धारणा राखे। उनले भने, “पार्टीको कुनै पनि निकाय एकपक्षीय वा पक्षपातपूर्ण हुनु हुँदैन। निर्णयको समीक्षा केन्द्रीय समितिले गर्नुपर्छ।”
खाणको अभिव्यक्ति र गतिविधिहरूले कांग्रेसभित्रको रणनीतिक पाटा कुन दिशातिर जाँदैछ भन्ने बुझ्न खोजिरहेका विश्लेषकहरूलाई थप सोच्न बाध्य बनाएको छ। देउवाप्रति समर्थन प्रकट गर्दै पनि उनी पार्टीभित्र सन्तुलनको खोजीमा देखिन्छन्।




































