अग्रजलाई सुनौं : सरकारी जागिरको रनामा हिडेका दाहाल कसरी पत्रकार भए ?

११ साउन, विर्तामोड :  प्रेस चौतारी नेपाल, झापा शाखाले सञ्चालन गर्ने त्रैमासिक कार्यक्रम अन्तर्गत ‘अग्रजलाई सुनौं’ कार्यक्रमको दोस्रो श्रृङ्खलामा आइतबारका प्रमुख वक्ता थिए अग्रज पत्रकार गञ्जबहादुर दाहाल ।

सरकारी जागीरे हुन् असिमित चाहना बोकेर सदरमुकाम चन्द्रगढी छिरेका दमकका दाहाल अन्ततः पत्रकार बने । २०३२ सालदेखि पत्रकारितामा क्रियाशील नेपाली पत्रकारिताको ज्यूदोँ इतिहास, थुप्रै पत्रकारहरूका गुरु, उहिलेदेखि अहिलेसम्म पत्रकारितामा निरन्तर क्रियाशील अग्रज पत्रकार दाहालले झण्डै पौने घण्टासम्म पत्रकारिताका विगत र बर्तमान सुनाए ।

उस्वेलाको सारोगारो, अप्ठ्यारो चूनौतीलगायतका आफ्ना भोगाई सुनाउन भ्याए । व्यावसायिक सञ्चार माध्यामहरूमा काम गर्दाका अनेक रोचक अनुभव, तितामिठा स्मृति, गलत समाचारका प्रभाव र परिणाम, तत्कालीन समयमा सञ्चार सुविधाको अवस्थाको चित्रण पत्रकार दाहालले गरे ।

उनले पत्रकारिताको अतित कोट्टयाउँदै गर्दा कार्यक्रम स्थल प्रेस चौतारी नेपाल, झापा शाखाको हल निक्कै शान्त थियो । पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार दाहाल हाल दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकको सम्पादन तथा प्रकाशन गरिरहनु भएको छ । भर्खर एसएलसी पास गरेर भद्रपुरमा बैंकको जागिर खोज्न गएका पत्रकार दाहालकै नातेदार बसन्तकुमार खड्काले पत्रिकाको काम गर्दै गर भनेपछि उसबेला भद्रपुरबाट सूर्योदय साप्ताहिक पत्रिका प्रकाशन हुने गरेको करीव ४५ मिनेटको बसाईमा शुरुमै कुरोको चुरो यसरी नै खोल्दैं गए ।

समाचार लेखन र हुलाकमा पठाउने पत्रिकाको ठेगाना लेख्ने लगायतका काममा उनको रस भिज्न थालेपछि उनी रमाउँदैं गएछन् । काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भएछ । आजभन्दा ५० वर्ष अघि भद्रपुरको सूर्योदय साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका दाहालको केही समयपछि पत्रिकाको मुनि व्यवस्थापक भनेर नाम छापिएर गज्जवनै भएछ । ‘एक दिन महारानी झोडातिरका मेरा मामाले भेट हुँदा भने – क्या हो भाञ्जा, तिम्रो नाम त गोरखापत्रमा छापिएको रहेछ । त्यसबेला जुनसुकै पत्रिकालाई पनि गोरखापत्र भन्ने चलन थियो ।’ बसाई मा हामीलाई पत्रकार दाहालले सुनाए ।

सूर्योदयपछि उनले वि.सं. २०३७ देखि जनज्योति साप्ताहिक र वि.सं. २०६२ देखि पूर्वसन्देश दैनिक प्रकाशित गरेर अहिलेसम्म त्यसलाई निरन्तरता दिइरहेका छन् । झापाको पत्रकारिताको एउटा इतिहास बनेका दाहालका पत्रकारिता अनुभूतिहरु आज नयाँ पुस्ताका पत्रकारहरुले विर्तामोडमा सुन्न पाएँ । दाहालले पत्रकारितामा आफू नआएको भए बैंकिङ वा शिक्षण क्षेत्रमा जाने सम्भावना रहेको सुनाए । ‘म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए,’ उनले भने –‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो । पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो ।’ कुनै पनि पेशामा निरन्तरता दिए मात्रै सफलता प्राप्त गर्न सकिने पत्रकार दाहालको धारणा छ । उनले भने– ‘निरन्तरताको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो । आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काममा हुन्छ ।’ अघिल्लो पुस्तासँग मासिक एकसय २५ रुपैयाँमा शिक्षण समेत गरेका दाहालले अहिलेका पत्रकारहरुको लेखाईमा धेरै प्रभाव नरहेको गुनासो गरे ।


उनले भने – ‘पहिले सानो समाचार बनाउँदा पनि ठुलै प्रभाव पर्ने थियो, अहिले पहिले जस्तो छैन ।’ पत्रकारिताबाटै जीवनमा सामाजिक र आर्थिक उन्नति गरेको बताउँदै उनले नयाँ पुस्तालाई नयाँ ढंगबाट निष्ठापूर्वक निरन्तर काम गर्न सुझाव दिए । नयाँ पत्रकारहरुले पुरानै शैली अपनाइयो भने यो क्षेत्रमा प्रगति गर्न नसकिने उनको भनाई थियो ।

छापा पत्रकारिताको युग सकियो कि भन्ने टिप्पणीप्रति दाहालले असहमति जनाउँदै अझै पनि भविष्य रहेको बताए । विज्ञापन र ग्राहक शुल्कबाट व्यवसायलाई अघि बढाइरहेको सुनाउनुभयो । ०६२-६३ को आन्दोलनहरुलाई स्मरण गर्दै तात्कालिन शाही नेपाली सेना र माओवादी विद्रोहीको दोहोरो दवदवा रहेका अवस्थामा समाचारमा सन्तुलन ल्याउनु चुनौतिपूर्ण रहेको विषयमा रोचक प्रसंगहरु सुनाएका थिए । दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारे पनि पत्रिकार र छापाखानाको काम बन्द नगरेको भन्दैं उनले पत्रिकामा आम नागरिकलाई धेरै विश्वास हुने भन्दै पत्रकारहरुलाई खोज समाचारमा लाग्न आग्रह समेत गरे । हामी सुन्न बसेकाहरुहरुलाई उाले भनिरहे,‘समाचार र इतिहासको पूर्णता प्राप्त गर्न वा पर्खिन सकिन्न । जहाँ जति प्राप्त हुन्छ, त्यहाँ त्यति नै समाचार हो र त्यही नै इतिहास हो । यसलाई समाचार र इतिहासको विधिको कसीमा जाँची सार्वजनिक गर्नु पत्रकार वा लेखक÷इतिहासकारको तत्कालको कर्म हो।’ आजको समाचार र इतिहासको सत्य भोलि बदलिन पनि सक्छ तर आजको सत्य के हो, थाहा पाउनुपर्छ ।

पत्रकार दाहालले पत्रकारिताका उकाली र ओरालीका अनुभवहरु खुलस्त सुनाउँदै भने — पचास वर्ष अघि जुन दिन मैले पत्रकारिता यात्रा सुरु गरे, आजसम्म मैले कुनै दिन पनि कलम र कापी बिसाएको छैन् । दाहालका पत्रकारिता जीवनका अनुभूतिहरु नयाँ र भावी पुस्ताका लागि अमूल्य प्रेरणाका स्रोत हुन् । पत्रकारहरु गोपाल गड्तौला, विष्णु पोखरेल, मनकुमार गदाल, बिमल लामिछाने, टिकाराम उप्रेती, सावित्रा दाहाल, गोपाल झापाली, विष्णु पौडेल लगायतलेदाहालले नेतृत्व गर्नु भएको पत्रिकामा आफ्नो जीवनका उर्वर उमेरहरु बिताउँदै पत्रकारिताको शिप र अनुभव संगाल्नु भएको भन्दैं त्यसवेला उनीहरुले लगाएको गुण आफूले कदाबी नभुल्ने बताए ।

उस्वेला लेटर प्रेसबाट शुरु भएको उनको पत्रकारिता यात्राले पत्रकारितामा भविष्य पनि देखेका छन् । लेख्न सक्ने पत्रकार लेखेरै बाँच्न सक्ने उनको भनाई छ । अब त पत्रकारिताको त्यो परिभाषा धेरै पुरानो भइसक्यो । हिजोको पत्रकारिता र आजको पत्रकारितामा निक्कै फरक रहेको उनको अनुभव छ । ‘अब प्रविधिका माध्यममा पाठकहरूसँग ‘इन पर्सन’ अर्थात् ‘लाइभ कन्भर्सेसन’ गर्न तयार छन् । ’ उनले थपे । समय, विज्ञान र प्रविधिको विकासले अभिव्यक्तिका माध्यम अनेक छन् र ती बदलिरहेका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले अग्रज पुस्ताका अनुभव र भोगाइहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले हरेक तीन–तीन महिनामा कार्यक्रमलाई नियमित गरिने बताए । कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा समेत राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका सहसचिव तीलक योञ्जनले गरेका थिए ।

‘मिलनसार, सरल, लगनशील र संघर्षशील व्यक्तित्व अग्रज पत्रकार दाहाललाई सुन्न पाउँदा म हर्षविभोर छु । उहाँप्रतिको सम्मान अझ बढेको छ । उहाँको पत्रकारिता जीवनको सफलताप्रति गर्व गर्दछु । अग्रजको कुरा सुन्ने कार्यक्रम अग्रजहरुप्रति उच्च सम्मान अर्पण गर्ने अवसर पनि हो, यो असल संस्कार पनि हो । यसका लागि प्रेस चौतारी झापा धन्यवादको पात्र भएको छ ।’ नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य मोहनकाजीले भने ।

कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य एवम कोशी प्रदेशका सह –इञ्चाज गोपाल काफ्ले, केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्य तथा पाचथर जिल्ला इञ्चार्ज सावित्रा दाहाल, केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज शम्भुजित दाहाल, पुर्व केन्द्रीय सदस्य भीमा शिवाकोटी, कोशी प्रदेश समितिका सचिव लक्ष्मी उप्रेती, कोषाध्यक्ष विशाल नेम्वाङ , सदस्यहरू सुदिप अधिकारी, भूमिराज पराजुली, संगठनको विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वगण, संगठनका नेता, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारी, झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेसहित निक्कै जनाको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.