२३ साउन, काँकडभिट्टा : स्वतन्त्र विद्यार्थी युनियन ,काँकडभिट्टा बहुमुखी क्याम्पस, मेचीनगर– ६ ले शुक्रबार चौथो वर्षका विद्यार्थीहरूलाई विदाईसहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पसमा महापुरूषहरूको महावाणी लेखन तथा स्थापना, पूर्व स्ववियु सभापतिहरूको तस्बिर स्थापना तथा मायाको चिनो प्रदान, अतिरिक्त क्रियाकलाप अन्तर्गत नगरस्तरीय चेस प्रतियोगिता सञ्चालनको घोषणालगायतका कार्यक्रम सम्पन्न गरेको हो ।

मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पोख्रेल उप्रेतीले प्रमुख आतिथिको आसनबाट व्यानर वाचन गरेर कार्यक्रमको विधिवत उद्घाटन गरेकी थिइन् ।
उद्घाटनका अवसरमा कार्यवहाक नगरप्रमुख उप्रेतीले अहिले देशका हरेक सामूदायिक शैक्षिक संस्थाहरू धराशायी बनेको र स्थानीय सरकार आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरूको गुणस्तर र भौतिक संरचना सुधारमा लागि परेको विश्वास दिलाईन् ।
तर, हरेक शैक्षिक संस्थाको गुणस्तर र भौतिक संरचना सुधार तथा विकासका लागि कसैको एक्लो प्रयासमात्र सम्भव नहुने, यसका लागि क्याम्पस व्यवस्थापन, विद्यार्थी संघ संगठन, शिक्षासेवीसहित सवैजना एक ठाउँमा उभिनुपर्ने बताईन् ।

नगरभित्र काँकडभिट्टा , धुलाबारी इञ्जिनियरिङ त्रिदेव क्याम्पस चारआली सञ्चालनमा रहेको भन्दै मेचीनगर नगरपालिका यी तीनवटै क्याम्पसलाई बजेट विनियोजन गरेर अघि बढ्दै गरेको बताईन् ।
मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्यले विदाई भएर जाने चौथो वर्षका विद्यार्थीलाई आगामी दिनमा पनि शैक्षिक उन्नति प्रगतिको कामना गर्दैँ स्ववियुको यो रचनात्मक कामको प्रशंसा गरे । अब हरेकमा सीप हुनुपर्नेमा जोड दिदैँ हरेक विद्यार्थीमा कुनै न कुनै सीप भए जीवन सरलरूपमा चल्ने बताए ।

काँकडभिट्टा क्याम्पसको शिक्षा गुणस्तरीय भएको र यहाँका हरेक विद्यार्थी अब उच्च शिक्षाका लागि टाढा टाढा जानु नपर्ने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्थानीय सरकारले क्याम्पसकोभौतिक पूर्वाधारका लागि गरेको सहयोगमा हार्दिक अभार प्रकट गरे । आगामी दिनमा समेत यस्तै साथ सहयोगको अपेक्षा समेत गरे । स्ववियु क्याम्पसको महत्वपुर्ण अंग भएकाले क्याम्पसका हरेक गतिविधिमा उपस्थिति दर्बिलो हुनुपर्ने बताए । रचनात्मक काममा हरेक विद्यार्थी जुट्नुपर्ने भन्दैं पढाईसहित अतिरिक्त क्रियाकलापमा समेत लाग्नुपर्ने अध्यक्ष सापकोटाले सुझाव दिए ।
मेचीनगर नगरपालिका वडानम्बर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले क्याम्पसमा हुने यस्ता रचनात्मक कर्मले समाजमा सकरात्मक सन्देश जाने बताए । यसकारण पनि विद्यार्थीले पनि आफूसँग जोडिने जो कोहिलाई पनि काँकडभिट्टा क्याम्पसमा अध्ययनका लागि प्रेरित गर्नुपर्ने भन्दैं अब क्याम्पस जोगाउने जिम्मा हरेक विद्यार्थीको काँधमा रहेको बताए ।

कार्यक्रममा विद्यार्थी अपेक्षा चौलागाईँ र तेजस्वी घिमिरेले नृत्य प्रस्तुत गरेका थिए । स्ववियु सभापति सुरज राईको अध्यक्षतामा कार्यक्रममा स्वागत उपसभापति सुरज चिमरियाले कार्यक्रमको ओैंचित्यमाथि प्रकाश पार्दैं सहभागी सबैलाई शब्दमार्फत स्वागत गरेका थिए भने, स्ववियु सदस्य विज्ञान राईले सञ्चालन गरेकी थिईन ।







































