१० मंसिर, मेचीनगर : यसवर्षको ‘लाल–भागिरथा उत्कृष्ट प्रतिभा’ पुरस्कार वरिष्ठ पत्रकार नकुल काजी ‐उर्फ—व्यंगयनारान पाँडे) लाई प्रदान गरीने भएको छ । झापाको लाल —भागिरथा बानियाँ प्रतिष्ठानले हरेक वर्ष विभिन्न विधामा पुरस्कार र सम्मान पत्र प्रदान गर्दै आएको छ ।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका झापाका तीन जना प्रतिभालाई पुरस्कृत गर्ने निर्णय अनुसार बुधवार धुलावारीमा प्रतिष्ठानले पुरस्कृत प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानको प्रतिभा छनौट समितिको बैठकले गरेको निर्णयलाई सर्वसम्मतरुपमा सदर गर्दै नाम सार्वजनिक गरिएको गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले जानकारी दिए ।
अध्यक्ष बानियाँका अनुसार ‘लालबहादुर उत्कृष्ट कृषि पुरस्कार ’ इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र ‘भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार ’ मालती राजबंशी प्रदान गरीने छ । आगामी मंसिर २० गते मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा सातौ वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान गर्ने छ । प्रतिष्ठानले आफनो सातौ वार्षिक उत्सवका अवसरमा जनही नगद ३१ हजार रुपैयाँसहित सम्मान पत्र दोसल्लाले तीनजनालाई विशेष कार्यक्रमकाबीच सम्मान गर्ने योजना रहेको छ ।
कोषको व्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई जनही ३१ हजार नगद पुरस्कार र सम्मानपत्रसहितको उत्कृष्ट पुरस्कार दिने गरिएको छ । दुई दर्जन बढी कृति प्रकाशित र विवेचना, झापा एक्सप्रेस, इस्र्टन इको, बरुणलगायतका पत्रपत्रिकाको सम्पादन गर्नु हुने वरिष्ठ पत्रकार काजी झापा भद्रपुर–८ का स्थायी बासिन्दा हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ । अर्का पुरस्कृत व्यक्तित्व ७० वर्षीया उत्कृष्ट गृहिणी राजबंशी मेचीनगर–७ स्थित मदनवस्ती निवासी हुन् । उनले १२२ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।

‘ज्येष्ठ नागरिकको अभिभाकत्व, युवा समूदायको संरक्षण गर्ने दायित्व’ विषयमा वकतृत्वकला प्रतियोगितामा मेचीनगर नगरपालिका क्षेत्रभित्रका ११ वटा सामूदायिक माविका विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका प्रथम हुनेले नगद तीनहजार, दोस्रो हुनेले नगद दुईहजार, तेस्रो हुनेले नगद एकजार पाँचसय र सान्तवना स्थान हासिल गर्नेले नगद पाँच सय सहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतिष्ठानको सातौँ वार्षिकोत्सव मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा हुने छ । पत्रकार सम्मेलनको सहजीकरण प्रतिष्ठानका सदस्य भाष्कर शर्मा घिमिरेले गरेका थिए । २०७६ सालमा झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहने गरी सातवर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र बानियाँदाजुभाईहरुको संयुक्त पहलमा स्वर्गीय मातापिता लालबहादुर र भागिरथा बानियाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले समाजमा विशिष्ट योगदान पुर्याउने प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले १० लाखको अक्षयकोष स्थापना गरेको छ । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले १० लाख रुपैयाँको सुरुवाती अक्षय कोष खडा गरेको थियो ।




































