एकपटक एकजना चित्रकार सम्राट् नेपोलियन वोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोर लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । नजिक नबसाली अलिपरै बस्ने आदेश दिए । उनीहरु बीच कुराकानी सुरु भयो । कुराकानी हुँदै जाँदा नेपोलियनले उनी एक बढो कुशल चित्रकार हुन् भन्ने बुझे । किनकि छोटो कुराकानीबाटै उनी कुनै व्यक्तिको प्रतिभा र क्षमताको पारख गर्न सक्थे ।
केही समयको कुराकानीपछि ती चित्रकार बिदा भएर जान लागे । त्यसपछि नेपोलियन आफ्नो आशनबाट उठेर उनीसँग बडो आत्मीयतापूर्वक हात मिलाएर उनलाई विदा गरे । साथै उनी ती चित्रकारलाई ढोकासम्म पुर्याउन आफैं गए । नेपोलियनको यस प्रकारको आदर सत्कार देखेर चित्रकारलाई बडो आश्चार्य लाग्यो । मनको खुल्दुली मेटाउन उनले डराउँदै डराउँदै सम्राट् नेपोलियनसँग सोधे, ‘रिसानी माफ होस् सम्राट् मलाई एउटा कुराको बडो खुल्दुली भइरहेको छ । म यो खुल्दुली मेटेर मात्र हजुरसित बिदा हुन चाहन्छु । जतिखेर म भित्र आएको थिएँ, त्यतिखेर हजुरले मलाई आफ्नो नजिक बस्नसमेत दिनुभएन । अब अहिले जाने बेलामा भने तपाईं मलाई यहाँसम्म पुर्याउन आउनु भएको छ, यसको कारण के हो ? ’ उनको जिज्ञासा सुनेर नेपोलियनले मुस्कुराउँदै भने, ‘आउने बेलामा कुनै व्यक्तिलाई जुन आदर गरिन्छ, त्यो उसको पोशाक हेरेर गरिन्छ । तर जाने बेलामा जुन आदर गरिन्छ, त्यो भने उसको गुण र प्रतिभा देखेर गरिन्छ ।’
समाप्त