५ वैशाख, र मेचीनगर : सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।
तर, झापा जिल्लामा भने राजनीतिक दलहरुले उम्मेद्वार नै टुङ्गो लगाउन सकेका छैनन् । यतिखेर सझापामा राजनीतिक दलहरुलाई उम्मेद्वार छान्न सकस परिरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् ।
६ राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा दर्ता भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप चार नयाँ दल थपिएको कार्यालयले जनाएको छ ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहे पनि झापाका राजनीतिक दलहरु बैठक र छलफलमामात्र सिमीत छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्तरिक चुनाव मार्फत उम्मेद्वार टुङ्गो लगाउने भने पनि अहिलेसम्म झापाका कुनै पनि पालिकामा प्रमुख उपप्रमुखका उम्मेद्वारको नाम टुङ्गो लगाउन सकेको छैन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमालेले सात वटा स्थानीय तहमा प्रमुख र ११ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेपाली काँग्रेसले ५ वटा पालिकामा प्रमुख र २ स्थानमा उपप्रमुख तथा राप्रपाले तीन वटा स्थानमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेकपा एमालेले २०७४ सालमा भएको निर्वाचनमा ८ वटा नगरपालिकामध्ये ६ वटा अर्जुनधारा, कनकाई, दमक, भद्रपुर, बिर्तामोड र शिवसताक्षीमा जीत हासिल गरेको थियो ।
त्यसमा पनि पाँच नगरपालिका बिर्तामोड, भद्रपुर, अर्जुनधारा, दमक र कनकाईमा प्रमुख, उपप्रमुख दुवै पद नेकपा एमालेले जितेको थियो । सात गाउँपालिकामध्ये नेकपा एमालेले एउटा मात्रै गाउँपालिकामा प्रमुख र उपप्रमुख पद आफ्नो पक्षमा पारेको थियो । कमल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेपनि अन्य छ वटा गाउँपालिकामा नेपाली कांग्रेस र राप्रपाले जीत हासिल गरेका थिए । नेकपा एमालेले सात गाउँपालिकामध्ये तीन वटा पालिकामा उपाध्यक्ष पद जितेको थियो । नेकपा एमालले समेत उम्मेद्वार मनोनयन दर्ता गर्न एकसातामात्र हुँदासम्म उम्मेद्वार चयन गर्न सकेको छैन् । गठबन्धनमा रहेका दलहरुबीच कसिँदै गएको सम्बन्धले मूलतः पहिलो शक्तिको रुपमा स्थापित नेकपा एमालेलाई स्थानीय तहको निर्वाचन निक्कै सकस पूर्ण हुने आँकलन गरिएका बेला उस्ले समयमै उम्मेद्वार टुङ्गो लगाउन नसक्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
सत्ता साझेदार दलहरुको पनि हालत उहि छ । सरकार सञ्चालनमा रहेका ५ दलले स्थानीय तहको निर्वाचनमा समेत गठबन्धनलाई कायम राख्दैं उम्मेद्वारी दिने भने पनि अहिलेसम्म पटक पटक छलफल र बैठक वाहेक निष्कर्शमा पुग्न सकेका छैनन् । उम्मेद्वारको भागवण्डा मिलाउन अहिले गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई हम्मे हम्मे परेको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन जिल्लामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य हुनुहुन्छ
१० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको दाबी गरेको गठबन्धको कार्यदलले वाँकी पालिका र वडा तहको सहमति सम्पन्न गर्नुपर्ने छ । राष्ट्रियस्तरको गठवन्धन कार्यदलको निर्णय अनुसार झापामा पनि वैठक बसिरहेको छ । जसले पाँच दलको एकतालाई बलियो बनाउँदै लैजाने अवस्था बन्दै गएको छ । दलीय गठबन्धनलाई बलियो बनाउन नेपाली कांग्रेस झापाको अगुवाइमा अहिले निरन्तर दलका नेतासँग छलफल र संवाद भइरहेको नेपाली कांग्रेसले जनाएको छ ।
उम्मेदवारको टुङ्गो लगाउन केही दिनदेखि निरन्तर हामी छलफलमा छ गठबन्धन झापाका १५वटै पालिकाबाट तहगत निर्णय गरेर उम्मेदवार टुङ्ग्याउँने र सवै पालिका गठबन्धनले जित्ने गरीको तयारी छ । अघिल्लो निर्वाचमा तेस्रो शक्तिको रुपमा देखापरेको राप्रपा पर्ख र हेरको स्थितिमा छ । नेकपा एमालेका अध्यक्ष ओलीको निर्वाचन क्षेत्र दमक नगरपालिकासहित केही पालिकामा उम्मेदवारको टुङ्गो लगाएको राप्रपा कोसँग निर्वाचनमा तालमेल गर्ने भन्ने विषयमा टुङ्गोमा पुग्न सकेको छैन । त्यसैका कारण पनि उस्ले सवै पालिमामा आफ्ना उम्मेद्वारको नाम घोषणा गर्न सकेको छैन् । पार्टीको आन्तरिक रुपमा उम्मेदवार छनौट प्रक्रियामा राप्रपा अल्मलिइरहेको छ । अन्य दलले समेत निर्वाचनका विषयमा चासो देखाए पनि अहिले सम्म उम्मेद्वार टुङ्गो लगाउन सकेका छैनन् ।
स्थानीय तहको निर्वाचनमा मनखुशी उम्मेद्वारी घोषणा र भोट माग्नेसम्मका काम हुन थालेपछि जिल्लाका प्रमुख राजनीतिक दलहरुलाइ उम्मेद्वारी छनौटमा सकस शुरु भएको हो । दलहरुले जताभावी स्वतःस्फूतरुपमा उम्मेद्वारी घोषणा नगर्न र गरेमा कार्वाही गर्नेसम्मका सर्कुलर गरेपनि अहिले त्यस्तो कार्य नरोकिदा समस्या भएको छ । वडासदस्य देखि लिएर नगरपालिका तथा गाँउपालिका प्रमुखसम्म बिबाद हुने देखिन थालेको छ । तर, पार्टी नेतृत्व भन्छ पार्टीको निर्णय विपरीत उम्मेदवारी घोषणा भएमा अनुशासनको कार्वाही सम्म गर्ने हुन्छ । तर। कार्यकर्ता किन मान्थे र ?
नेकपा एमालेको एकसाता अघि भएको जिल्ला कमिटीको बैठकले निर्णय गरेर नै कसैलाइ पनि उम्मेद्वारी घोषणा नगर्न र गरेको पाइए उम्मेदवारका लागि अयोग्य
हुने सम्मको चेतावनी दिइएको थियो । तर यसको पालना भएको छैन । वडा तथा गाँउ समायोजनमा उम्मेदवारी घोषणा हुन थालेको छ । माओबादी केन्द्र र राप्रपामा भने त्यति धेरै यो समस्या छैन । यद्यपि दमकमा गगन पुरीले मेयरको उम्मेद्वारी घोषणा गरेपछि गोपाल किरातीले प्रेस बक्तब्य नै निकालेर आफुखुशी उम्मेद्वार घोषणा नगर्न भन्दै ध्यानकर्षण गराउनुभएको थियो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक झापामा एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ६ लाख ४६ हजार २ सय ३४ जना कूल मतदाता रहेका छन् । जसमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । महिला मतदाता मात्रै ३ लाख २४ हजार ७ सय ५ जना छन् भने पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० जना रहेको छ । झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा ७ सय ५५ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल तोकिएको छ । राजनीतिकदलहरुले अहिले विभिन्न वहाना देखाउँदै उम्मेद्वार छान्नमा ढिलाई गरे पनि अबको एकसातापछि उम्मेद्वारी मनोनयन गर्नैपर्छ । त्यसका लागि अब दलका प्रमुख नेतृत्वहरको कानमा बतास चल्न जरुरी छ ।