२५ माघ, धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बुधबारको बैठक स्थगित भएको छ । नागरिक उन्मुक्तिका सांसद उपस्थित नहुने भएपछि मुख्यमन्त्रीले बिहीबारका लागि बैठक सार्न प्रदेशसभा सचिवालयमा अनुरोध गरेका हुन् ।
‘मुख्यमन्त्रीको आग्रहमा आज निर्धारित बेठक स्थगित गरेर भोलि १ बजेका लागि राखिएको छ,’ प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले भने ।
मुख्यमन्त्रीले विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । बुधबार बिहानसम्म सो पार्टीका सांसद काठमाडौंमै रहेका छन् । मंगलबार उनीहरूले मत नदिने अडान दोहोर्याएका थिए । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । बिहीबारभित्र विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् ।
सरकार नेतृत्वकर्ता दलका सांसदहरुले अन्तिम समयमा भए पनि विश्वासको मत पाउने विश्वास गरिरहेका छन् । तर नागरिक उन्मुक्तिले मंगलबार गरेको आन्तरिक छलफलपछि नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई निर्देशन गरेपछि स्थिति पेचिलो बन्दै गएको हो । नागरिक उन्मुक्तिका सांसद बुधबार पनि काठमाडौंमै छन् । उनीहरू सम्पर्कमै आउन चाहेका छैनन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ । तसर्थ, नागरिक उन्मुक्तिको साथ नपाएसम्म अहिलेकै अवस्थामा मुख्यमन्त्री रावलले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।
माओवादी केन्द्रका १०(सभामुखबाहेक), नेकपा एमाले १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक गरी २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेतासमेत रहेका रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सुदूरपश्चिममा सबैभन्दा ठूलो दल कांग्रेसका १९ सांसद छन् । त्यस्तै एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ जना छन् ।
इकान्तिपुरबाट