२० असोज, मेचीनगर : झापाको मेचीनगरमा मानवसेवा आश्रम निर्माण हुने भएको छ । शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भई खुला आकासमूनि रात विताउन विवश घरबार विहिन, बेसहरा, परित्यक्त, असाहय, तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई लक्षित गरेर मेचीनगर—४ को बाहुनडाँगीमा तिहारपछि आश्रम निर्माण कार्य शुरु हुने छ ।
स्थानीय रामबहादुर प्रधान, श्रीमती लक्ष्मीमाया प्रधान र पूर्णमाया प्रधानले आश्रम निर्माणका लागि निःशुल्क करोडौँ रुपैयाँ मुल्य पर्ने दुई कठ्ठा ५ धुर जग्गा उपलब्ध गराएपछि मेचीनगर नगरपालिकाको पहलमा आश्रम निर्माण हुन लागेको हो ।

नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा दाता प्रधान परिवारले उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय खेमराज ओझा मानवसेवा आश्रमका केन्द्रीय, प्रदेश नेतृत्व सहितको उपस्थितीमा जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय खेमराज ओझाले जग्गाधनी प्रमाणपूर्जा ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक राम जी अधिकारीले अबको चारवर्षभित्रमा शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भई खुला आकासमूनि रात विताउन विवश घरबार विहिन,बेसहरा, परित्यक्त, असाहय,तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गर्ने प्रमुख उद्घेश्यका साथ मानवसेवा आश्रम अघि बढेको स्पष्ट पार्नुभयो ।

आगामी दिनमा यसका लागि नगरपालिकाले नगरसभाबाटै वजेट विनियोजन गर्ने नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । आफ्नै नगरमा यस्तो कार्य हुन लागेको भन्दैं उहाँले सवैलाई धन्यवाद समेत दिनुभयो । यस कार्यमा साथ सहयोग गर्न सवैलाई आग्रह समेत नगर उपप्रमुख उप्रेतीले आग्रह गर्नुभयो ।





































