घोप्टो परेर चूल्हो फुक्दै गरेकी
सकिनसकी दाउरा चौट्याउदै गरेकी
अस्तव्यत पहिरनमा मलाई नुहाउँदै गरेकी
थपी थपी खान दिएर सबैलाई
भाँडो कराई चाटीचुटी पार्दै गरेकी
आफू कतै असरल्ल परेपनि परिवार सपक्क समेटेकी
थियो थिएन वास्तानै नगरी सबैलाई सम्पूर्ण पुर्याउँदै गरेकी
आर्थिक सन्तुलन जान्ने आर्थविद हो भने, आर्थशास्त्र मेरी आमा !
आँखा रुदाहुन कसैका आँखाले आँसु पिउन जान्ने मेरी आमा !
चाउरिएका गालामा पोतिएका असंख्या पिडा लुकाएर,
ओठमा मुस्कान सजाउन जान्ने मेरी आमा,
गल्तीमा ड्याम्का लगाएर मलाई आफै रुने मेरी आमा !
जीवन सुनाउने कहिले काही निकालेको फुर्सदमा
हरफ हरफमा महाकाव्य भन्न सक्ने मेरी आमा,
कथा सुरु हुन्छ भने कतै प्रेरणा बोकेर
त्यो सुत्र मेरी आमा,
कविता लेखिन्छ कतै भावना पोखेर,
त्यो छन्द मेरी आमा !
सुन्दर छ कोही कतै भने दृश्यमा,
त्यो चाडपर्वमा चिटिक्क परेकी मेरी आमा !
समस्या छन् भने कतै अत्याउने गरी,
समाधान मेरी आमा !
कन्सेरी समाएर सिकाउँदै गरेकी
धाप मारेर आँट बढाउँदै गरेकी
बिराउनु अघि नै चेतना भर्दै गरेकी
साथमा हुँदा स्पर्शले, पर हुँदा सम्झनाले
अंगाली रहने साथी मेरी आमा !
प्रत्येक बाडुलीको हिक्कामा
एकान्तको भक्कानोमा,
प्राप्तिको खुसी होस की
विजयको उपहार
मेरो प्रत्येक श्वास प्रश्वासमा मेराी आमा !
निश्चल मायाकी खानी संसारभरीकी सुन्दरी मेरी आमा 1
आजको दिन होला विशेष सँधै खास मेरी आमा !!