‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष नै एकले अर्काको सम्मान गर्नु हो ’ सभामुख घिमिरे

३ बैशाख, धाइजन : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली जनताका प्रतिनिधिमार्फत् संविधान सभाको पहिलो बैठकबाट घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रकै कारण आज हरेक जातजाति, वर्ग समुदायले आफ्नो धर्म, संस्कृति, संस्कार, रीतिरिवाज र परम्परालाई खुलेरै सभ्य र भव्यरुपमा मनाउँन पाएको बताएका छन् । उनले जाति जातिबीचको एकता भड्काउन खोज्ने तत्वहरुदेखि सबै समुदाय सजग रहनु पर्ने समेत बताए ।

बुधबार झापाको मेचीनगरमा लोपोन्मुख मेचे समुदायको महान राष्ट्रिय पर्व बैशागु बथर तथा बृहत् जनसाँस्कृतिक कार्यक्रम र मेचे समाज शिवियारी आफात केन्द्रीय कार्य समितिको नवनिर्मित भवन उद्घाटनको प्रमुख अतिथिको आसनबाट बोल्दैं संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष नै हरेक जातजाति, वर्ग समुदायले आफ्नो धर्म, संस्कृति, संस्कार, रीतिरिवाज र परम्पराको सम्मान गर्नु र संघीय लोकतान्त्रिक गणतन्त्रकको संस्थागत विकास अझै आवश्यकता रहेको बताए ।

संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुदैँ अघि बढ्न सकेमात्र हरेक समुदायका धर्म, संस्कृति, पहिचान, रीतिरिवाज, कलाको जर्गाेना हुने सभामुख घिमिरेले बताए । नेपालको कोशी प्रदेशको झापा र मोरङ्गमा मात्र बसोबास गरिरहेका अनि लोप हुन लागेको जातिको संरक्षण गर्नु सरकारको पनि दायित्व रहेको भन्दैं उनले मेचे समाज शिवियारी आफात आफ्नो समुदायको भाषा, धर्म, संस्कृति रीतिरिवाज, पहिचान संरक्षण र सम्वद्र्धमा लागेको देख्दा र मेचे जातिको विशेष पर्व बैशागु बथरमा उपस्थित हुन पाउँदा खुशी लागेको समेत बताए ।

‘संस्थाले हरेक वर्ष यो कार्यक्रम गर्दैआएको छ, यो महत्वपूर्ण काम हो । गौरवको विषय पनि हो ।’ सभामुख घिमिरेले भने—‘अब एकले अर्काको धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज र कलाको सम्मान गदैं अघि बढ्नुपर्छ । किन कि नेपाल विभिन्न जातिबाट बनेको धनी राष्ट्र हो ।’ आदिवासी जनजातिलाई संरक्षण गर्दै र प्राथमिकताका साथ विकाश निर्माणमा सहयोग गर्ने बताउँदैं उनले बन्धुहरूबीचको सम्बन्ध मजवुत भए राष्ट्रको पनि उन्नति र प्रगति हुन्छ । संस्कार र संस्कृतिहरूले समाजलाई बलियो बनाउन सकिने उनको भनाई थियो । लोपोन्मुख मेचे समुदायको संस्कृति, परम्परालाई जगेर्ना गरेर उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्नेमा उनको जोड थियो । ‘यो समुदायलाई लोप हुन दिनु हुँदैन’, सभामुख घिमिरेले भने–‘उनीहरुको संस्कृति र संस्कारलाई जगेर्ना गर्नुपर्छ । हराएका समुदायलाई संरक्षण गर्नु पर्छ । विकास निर्माणमा लगाउनु पर्छ ।’

नेपाल सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको समेत बताए । मौलिक पर्वको संरक्षण र सम्बद्र्धन गर्दै सबै जातजाति धर्म संस्कृतिको पहिचान स्थापित गर्न प्रतिबद्धका लागि सवै तहका सरकार एकजुट हुनुपर्ने उनको भनाई थियो । नेपालका विभिन्न समुदायले महत्वपूर्ण चाडको रूपमा मनाउँदै आएका यस्ता पर्वले एक आपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे ।

यस्ता मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरुलाई समेत आकर्षित गर्ने भन्दैं सभामुख घिमिरेले नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीयमुलुक भएको चर्चा गर्दै यसमा हुर्किएको यी पर्वले हरेक जातिको पहिचान झल्किने र सवैलाई सत्मार्गमा हिँड्न प्रेरणा दिने समेत बताए ।

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले हाम्रा भाषा , धर्म, संस्कृति ,रितिरिवाज परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिईन् । खासगरी मेचे समुदायको बसोबास कोशी प्रदेशको झापा र मोरङ जिल्लामा रहेको भन्दैं उपप्रमुख उपे्रतीले मोरङ जिल्लाको तुलनामा झापा जिल्लामा मेचे समुदायको बाक्लो बसोबास रहेको बताईन । राष्ट्रिय जनगणना २०७८ अनुसार मेचे समुदायको जनसंख्या ५ हजार १ सय ९३ जना रहेको छ । झापाका कुल १५ वटा पालिकामध्ये ९ वटा पालिकामामात्र मेचे समुदायको बसोबास रहेको र सवैभन्दा बढी मेचीनगर नगरपालिकाक्षेत्रभित्र करीव २ हजारको जनसंख्यामा बसोबास रहेको छ ।

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र विविधायुक्त नेपाली समाजमा बैशागु बथर जस्ता चाडपर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिबृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्ने उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गरिन । नेपालको मौलिक साँस्कृतिक परम्पराको संरक्षण तथा सम्बवद्र्धन गर्दै पर्यटन प्रवद्र्धन मार्फत आर्थिक र सामाजिक रुपमा समृद्ध मुलुक निर्माण गर्न समेत मेचे समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उपप्रमुख उप्रेतीको भनाई थियो । मेचे समुदायको उत्थान र संरक्षणका लागि स्थानीय सरकार लागि परेको उनले स्पष्ट पारिन ।

‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आव्हानः पहिचान सहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने मुख्यः नारासहित मेचे समाज शिवियारी आफात केन्द्रीय कार्य समितिले आयोजना र मेचे समाज शिवियारी आफात मेचीनगर कार्य समितिको सहआयोजना भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचे, भारतका पूर्व प्रतिनिधि सभा सदस्य सांसुमा खुंगुर बसुमथरी, मेचे महिला उत्थान संघका केन्द्रीय अध्यक्ष नुमा मेचे, नेपाली काँग्रेस मेचीनगर समिति सभापति सुदयकुमार पनेरूलगायतले बोलेका थिए ।

कार्यक्रममा जग्गादाता नरेन्द्र मेचे गछम ,बुद्वलाल मेचे र विशु मेचे२०८० सालको एसइइ परीक्षामा मेचे समुदायबाट सर्वाेत्कृष्ट अंक ल्याउने आईस्था मेचे दीपा मेचे, अञ्जलि मेचे, गरिमा मेचे, प्रकृति नार्जरी मेचे, पुर्णिमा मेचे, साधना मेचे, रोहित मेचे, मञ्जिला मेचे, रोश्नी मेचे, दिया मेचेलगायत तथा मेचे समुदायको कला, संस्कृति रितीरिवाज, धर्म पहिचानका लागि अहोरात्र सक्रिय रोजाहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि सभामुख घिमिरे, विशिष्ट अतिथि उपप्रमुख उप्रेती, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख प्रसाईलगायतले सवैलाई दोसल्ला पहिर्याएर सम्मान पत्र प्रदान गरेका थिए ।

मेचे समाज शिवियारी आफातका अध्यक्ष विरेन मेचेको अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष सीता श्रेष्ठ मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कालु मेचे र सचिव महेश मेचेले संयुक्तरुपमा गरेका थिए । आसामको साँस्कृतिक कलाकर्मीका कलाकारहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले मेचे समुदायको पहिचान झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । मेचे समुदायको राष्ट्रिय पर्व ‘बैशागु बथर’ बैशाख महिनाभरी मनाउने गरिएको छ । नयाँ वर्षलाई स्वागतसँगै मेचे समुदायको पहिरनमा बाजा गाजासहित विभिन्न परिकारको खानपिन गरेर नाचगान गर्ने चलन रहेको छ ।

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.